हेटौँडाः नेकपा (एमाले) मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । निर्वाचन क्षेत्रीय कमिटीको बैठकले मकवानपुर–१ बाट चुनाव लड्न ७ जना नेताहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
सो क्षेत्रमा चुनाव लड्न बहालवला प्रदेश सांसद देखि गाउँपालिका अध्यक्षको नाम समावेश गरिएको छ । सोही क्षेत्रमा ४ पटक निर्वाचन जितेका कृष्ण प्रसाद दाहाल पुनः उम्मेदवार बन्न सिफारिस भएका छन् ।
सिफारिस गरिएका नामहरूमा एमालेका केन्द्रीय सदस्यहरू रामेश्वर राना र एकालाल श्रेष्ठ रहेका छन् । श्रेष्ठ बागमती प्रदेशसभा सदस्य हुन् ।
त्यसैगरी, एमाले मकवानपुरका उपाध्यक्ष एवम् भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको नाम पनि सो क्षेत्रबाट सिफारिसमा परेको छ । पुर्व राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, मदनकुमार दाहाल र नारायण सापकोटा सो क्षेत्रबाट उम्मेदवारमा सिफारिस भएका छन् ।
यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसकि सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, एमालेबाट राप्रपा नेपालका कमल थापा बिच भएको प्रतिस्पर्धामा राप्रपाका केन्द्रीय सदस्य दिपक बहादुर सिंहले चुनाव जितेका थिए । आगामी फागुन २१ को निर्वाचनमा पनि राप्रपाका सिंह सोही क्षेत्रबाट एकल सिफारिसमा परेका छन् भने कांग्रेसबाट डिना सहित ३ जनाको नाम सिफारिस गरिएको छ ।











