Home जीवनशैली हेटौँडा सडक विस्तार विवादः आज सर्वोच्चमा सुनुवाइ हुँदै

हेटौँडा सडक विस्तार विवादः आज सर्वोच्चमा सुनुवाइ हुँदै

हेटौँडाको सडक

हेटौँडाः हेटौँडाको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्ने कार्य विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ प्रक्रिया अगाडि बढेको छ । सडक विस्तारका क्रममा आफ्नो घरजग्गा र सम्पत्तिको सुरक्षाको माग गर्दै विन्दवासिनी कंसाकार र महारत्न बज्राचार्यसहितका स्थानीयले दायर गरेको उत्प्रेषणको रिटमाथि आज सुनुवाइ तोकिएको हो । डिभिजन सडक कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतलाई विपक्षी बनाएर दर्ता गरिएको मुद्दामा आइतबार (आज) सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ ।

यसअघि गत मंसिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीका नाममा ‘कारण देखाऊ’ आदेशु जारी गर्दै सडक विस्तारको कार्य तत्काल अघि नबढाउन ‘अल्पकालीन अन्तरिम आदेश’ समेत दिएको थियो । सोही आदेशको निरन्तरता र अन्तरिम आदेशको विषयमा छलफल गर्न पटक – पटक पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ तथा ‘हेर्न नमिल्ने’ सूचीमा पर्दै आएको थियो ।

हेटौंडा बजारको २५ मिटर सडक विस्तार गर्ने योजना अनुसार मंसिर २० मा बजार क्षेत्रका घर तथा टहरा भत्काइएको थियो । उक्त कार्यको विरुद्धमा कंसाकार लगायतका स्थानीय सर्वोच्च पुगेका थिए । उक्त मुद्दामा रिट निवेदकहरूले उचित मुआब्जा र कानुनी प्रक्रिया पूरा नगरी व्यक्तिगत सम्पत्तिमा क्षति पुर्‍याउन नहुने जिकिर गर्दै आएका छन् ।

सो मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिका लगायतलाई विपक्षी बनाइएको छ ।

Exit mobile version