Home मुख्य समाचार पुरानो ज्योति फर्काउने प्रयासमा नवज्योति मावि

पुरानो ज्योति फर्काउने प्रयासमा नवज्योति मावि

हेटौंडाः हेटौंडा–७ स्थित नवज्योति माविमा कक्षा १० मा अध्ययनरत शर्मिला लोप्चन सधैँ विद्यालयमा उपस्थित हुन्छिन् । यसवर्ष एसईईको तयारी गरिरहेकी उनी नवज्योतिबाटै आफ्नो एसईई नतिजा उत्कृष्ट ल्याउने सपना देख्दै निरन्तर पढाइमा खटिरहेकी छिन् ।

अघिल्लो वर्ष यस विद्यालयबाट १७ जना एसईईमा सामेल भएकोमा नियमिततर्फ एक जनामात्र उत्तीर्ण हुन सफल भएको सम्झँदा उनलाई डर लाग्छ । मैले दिएको परीक्षा बिग्रन्छ कि भन्ने डर लागे पनि ग्रेडवृद्धि परीक्षामा थप ५ जना उत्तीर्ण भएको सम्झँदै उत्तीर्ण हुने दृढ संकल्पका साथ उनी पठनपाठनलाई नियमित बनाइरहेकी छिन् । हेटौंडा–७, न्युरेनी निवासी उनी भन्छिन्– ‘शिक्षकहरुले राम्रै पढाउनुहुन्छ, पुस्तकालय पनि छ । अलि विद्यार्थीहरुले नै ध्यान नदिएको हो जस्तो लाग्छ ।’ विद्यार्थीहरुको ध्यान केन्द्रित गर्ने काम शिक्षकहरुले गर्नुपर्ने उनको विचार छ ।

नवज्योतिको शैक्षिक अवस्था र विद्यार्थी संख्या हेर्दा लाग्छ, केही वर्षअघि मात्रै स्थापना भई विद्यार्थी बढाउन यो विद्यालयले संघर्ष गरिरहेको छ । तर विद्यालयको इतिहास र पहिचान भने वर्तमानभन्दा फरक छ । विसं २०३२ सालमा मकवानपुर जिल्लामा विद्यालय स्थापनाको लहरसँगै यो विद्यालय प्राथमिक विद्यालयको रुपमा स्थापना भएको थियो ।

सोही वर्ष स्थापना भउका जिल्लाका अन्य सामुदायिक विद्यालयहरु ५० वर्ष पुगेको अवसरमा धमाधम स्वर्ण महोत्सव मनाइरहेको बेला यो विद्यालय भने आफ्नो पुरानै अवस्थामा उठ्न प्रयासरत रहेको छ । सोही विद्यालय अगाडिबाट हेटौँडाका निजी विद्यालयका धेरै बस स्थानीय विद्यार्थी बोकेर कुदिरहँदा नवज्योति माविमा भने विद्यार्थी संख्या घट्दो क्रममा छ ।

विद्यालयका पूर्वप्रधानाध्यापक विमल गौतमका अनुसार शैक्षिक सत्र २०६५ तिर विद्यालयमा साँढे ६ सय विद्यार्थी अध्ययनरत थिए । त्यसपछि बिस्तारै ओरालो लाग्दै गएको विद्यार्थी संख्या कोरोनापछि झनै कमी आएको छ । शिक्षक गौतमका अनुसार २०५६ सालमा पहिलोपटक विद्यालयबाट एसएलसी परीक्षामा विद्यार्थीहरु सामेल भएका थिए । यस विद्यालयबाट एसएलसी उत्तीर्ण भएका बिद्यार्थीहरु हाल बिभिन्न क्षेत्रमा कार्यरत छन् ।

सामुदायिक बिद्यालयलाई सुधार गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति र समुदायका सबै पक्षले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । हाल विद्यालयमा इसिडी कक्षामा ५३ जना, कक्षा ५ सम्म १ सय ३५ जना, कक्षा ६ देखि ८ सम्म ५३ जना र कक्षा १० सम्म २५ जना गरी जम्मा २ सय ६६ जना विद्यार्थी अध्ययनरत छन् ।

यस्तै, विद्यालयमा मावि स्थायी दरबन्दी १ र राहत दरबन्दीमा ३ जना शिक्षकहरु कार्यरत छन् । निमावि तहमा १ स्थायी र ३ जना राहत दरबन्दीमा शिक्षकहरु कार्यरत छन् । प्रावि तहमा ७ जना कार्यरत छन् भने विद्यालयमा ५ जना शिक्षकहरु निजी स्रोतबाट कार्यरत छन् । यीमध्ये २ जनालाई विद्यालयबाट र ३ जनालाई वडा कार्यालयबाट तलब प्रदान हुने गरेको विद्यालयले जनाएको छ ।

अभिभावकको निष्क्रियता
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी न्यून आय भएका परिवार तथा अभिभावकविहीन बालबालिका रहेको विद्यालयले जनाएको छ । विद्यालयमा विसं २०४९ सालदेखि अध्यापन गर्दै आउनुभएका शिक्षक सुदर्शन नेपालका अनुसार पहिले बालबालिकाका अभिभावकहरुले विद्यालयको पढाइबारे नियमित सोधपुछ गर्थे । अहिलेका अभिभावक प्रायः निष्क्रिय देखिन्छन् । पहिलेका अभिभावक आर्थिकरुपमा सम्पन्नदेखि विपन्नसम्मका थिए । उनीहरुलाई एकै स्थानमा राखेर अन्तरक्रिया गराउँदा सबैमा बराबर प्रभाव पथ्र्यो तर अहिलेका अभिभावक आर्थिकरुपमा विपन्नमात्रै छन् ।

अभिभावकहरु दैनिक ज्यालादारीमा काम गर्ने हुँदा विद्यालय र बालबालिकाका लागि समय छुट्याउनै मुस्किल परेको बताउँदै आएका छन् । कतिपय बालबालिकाहरु घरबाट विद्यालय गएको र फर्केकोबारे उनीहरुका अभिभावकहरु बेखबर रहन्छन् । कक्षामा अनुपस्थित बिद्यार्थीको अभिभावकसँग विद्यालयले समन्वय गर्ने वातावरण हुँदैन । त्यसैले डेढ दशक अघिसम्म विद्यालयको परीक्षाको नतिजा तथा विद्यार्थी संख्या अरु सामुदायिक विद्यालयको हाराहारीमा सामान्य नै देखिन्थ्यो । अहिले अन्यत्र विकल्प नभएपछि मात्रै बाध्यताले यस विद्यालयमा बालबालिकाको भर्ना गर्नुपर्छ भन्ने गलत मान्यता अभिभावकहरुमा पनि देखिएको विद्यालयका शिक्षकहरुले महसुस गरेका छन् ।

विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई पनि छुट्टै राखेर पढाइन्छ । विद्यालयको मुख्य भवनमा सामान्य विद्यार्थीहरुलाई पढाइन्छ भने बौद्धिक अपाङ्गता तथा फरक क्षमता भएका विद्यार्थीहरुलाई न्युरेनीस्थित एक भवनमा राखिएको छ । यो भवन टाढा भएको कारण व्यवस्थापन समिति तथा प्रधानाध्यापकले समय तथा ध्यान दिन नसकेको कारण ४ कोठा थप गरी सोही विद्यालय हाताभित्रै सञ्चालन गर्नुपर्ने विद्यालयका प्रधानाध्यापक उपेन्द्र पौडेलले बताउनुभयो ।

सुधारका लागि प्रयास
विद्यालयमा शैक्षिक गुणस्तर पनि खस्कँदै गएपछि उपमहानगरपालिकाले विद्यार्थी संख्या न्यून भएको कारण देखाइ मर्ज गर्नुपर्ने सुझाव दिँदै आएपनि विद्यालय व्यवस्थापन समिति तथा स्थानीयले वडामा भएको एकमात्र सामुदायिक विद्यालय भन्दै मर्जकोे विरोध गर्दै आएका छन् । यसको विकासतर्फ उपमहानगरपालिकाले सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ ।

यस विद्यालयलाई बागमती प्रदेश सरकारबाट चालु शैक्षिक सत्रमा एउटा बस प्राप्त भएपछि विद्यार्थीहरु विद्यालय जान उत्साही भएका छन् । विद्यालय हिँडेका बिद्यार्थीहरु बाटैमा खेलेर विद्यालय नपुगी घर फर्कने समस्या कम भएको विद्यालयले जनाएको छ । यस आर्थिक वर्ष २०८२/०८३ का लागि हेटौंडा उपमहानगरपालिकाले नवज्योति मावि पूर्वाधारका लागि ३ लाख, बौद्धिक अपाङ्ग नवज्योति कार्यक्रम अन्र्तगत १३ लाख बिनियोजन गरेको छ ।

यस्तै, वडा कार्यालयले विद्यालयलाई शैक्षिक सहयोगका लागि ६ लाख, बस सवारी चालक व्यवस्थापनका लागि २ लाख र बस इन्धन सेवाका लागि २ लाख गरी १० लाख विनियोजन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडा अध्यक्ष दामोदर गौतमले बिद्यालय सुधारका लागि आर्थिक पक्षबाट वडाले समेत सहयोग गरिरहेकोले अर्को वर्ष शैक्षिक गुणस्तरमा सुधार तथा विद्यार्थी संख्यामा केही वृद्धि आउने अपेक्षा व्यक्त गर्नुभएको छ ।

अभिभावकलाई पनि सक्रिय बनाउन विद्यालयले विकल्पको खोजी गरिरहेको गौतमले बताउनुभयो । विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म पूर्ण अंँग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । कक्षा ६ देखि ८ सम्म नेपाली तथा अंग्रेजी दुबै माध्यमबाट पढाइ भइरहेको छ । कक्षा ९ र १० मा भने नेपाली माध्यमबाट पठनपाठन हुने गरेको छ । सबै कक्षामा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने विद्यालयको भावी योजना छ ।

करिब एक वर्षअघिदेखि प्रधानाध्यापकबिहीन बनेको विद्यालयले गत मंसिर २१ गते मावि तहमा कार्यरत उपेन्द्र पौडेललाई प्रधानाध्यापक पाएको छ । प्रधानाध्यापक बनेपछि कम्तीमा पहिलेको अवस्थामा विद्यालयलाई पु¥याउने आफूले लक्ष्य लिएको बताउनुभएको छ । उहाँले हाललाई इसिडी र कक्षा १० अध्ययनरत विद्यार्थीका अभिभावक भेलाहरु बोलाउन सुरु गरिएको जानकारी दिनुभयो ।

अभिभावकहरु लक्षित तालिम दिने, कक्षा १० लगायत अन्य कक्षाका विद्यार्थीहरुलाई अतिरिक्त कक्षा सञ्चालन गर्ने, शैक्षिक गुणस्तर बढाउन शिक्षकबीच समन्वय तथा नियमित छलफल गर्ने लगायतका योजनाहरु आफूले राखेको प्रधानाध्यापक पौडेलले स्पष्ट पार्नुभएको छ । सुरुमा एसईईको नतिजा राम्रो बनाउने र क्रमशः अन्य विषयमा परिवर्तन गर्दै लैजाने विद्यालयको भावी योजना रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।

Exit mobile version