हेटौँडा:युवा पुस्ताका लोकप्रिय कवि तथा गीतकार नवराज पराजुलीको कविता कन्सर्ट हेटौँडामा हुने भएको हो । हेटौँडा–४, भैरवरोडस्थित किताबघरको आयोजनामा कन्सर्ट हुन लागेको हो ।
किताबघरका सञ्चालक छवि अनित्यले कवि पराजुलीको कविता कन्सर्ट हेटौँडामा पहिलो पटक हुन लागेको जानकारी दिनुभयो । कन्सर्ट यहि पुस २५ गते एभोकाडो होटल एण्ड अर्किड रिसोर्टमा हुनेछ । कन्सर्ट साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ भने प्रतिव्यक्ति टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ । युवा पुस्तालाई साहित्यसँग जोड्ने कन्सर्टको मूल उद्देश्य रहेको किताबघरका सञ्चालक अनित्यको भनाइ छ ।
झापाका कवि पराजुली युवा पुस्ता माझ एकदमै लोकप्रिय छन् । उनको ‘सगरमाथाको गहिराइ’ पुस्तकलाई २०१७ सालमा पद्मश्री पुरस्कार प्रदान गरिएको थियो । उनी नेपाली पोयट्री स्ल्याम–२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ ‘अष्ट्रेलिया’ बाट पुरस्कृत भएका छन् । उनी विशेषगरी प्रेम, जीवनका अनुभूति, समाज र मानवीय संवेदनालाई सरल तर गहिरो भाषामा प्रस्तुत गर्ने कवि हुन् ।