आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको चहलपहल सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दलहरु दर्ता तथा अद्यावधिक गरिसकेको छ । मतदाता नामावली थप तथा अद्यावधिक गरेर अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ । समानुपातिक निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुले उम्मेद्वारको बन्द सूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । समानुपातिक निर्वाचनका लागि प्रमुख दलहरुले बुझाएको नामावलीको चर्चा भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीमा पहिलादेखि नै देखिएको विकृति यस पटक पनि दलहरुले दोहा¥याएको भन्दै आलोचनासमेत भइरहेको छ । पुराना दलहरुसँगै वैकल्पिक शक्तिको रुपमा देखिएका नयाँ राजनीतिक दलहरुको समानुपातिक सूची पनि विवादरहीत हुन सकेको छैन ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मिश्रित प्रणालीमा हुने गरेको छ । २०६२/०६३ को जनआन्दोलनको उपलब्धिको रुपमा आएको समानुपातिक निर्वाचन प्रणालीलाई वर्तमान संविधानले पनि स्वीकार गरेपछि प्रत्यक्ष र समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित गरिन्छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् । देशभर १६५ निर्वाचन क्षेत्रबाट पहिलो हुने निर्वाचित हुने प्रणालीसँगै समानुपातिकका लागि पनि मतदाताले मतदान गर्दछन् । दलहरुले समानुपातिकतर्फ प्राप्त गरेको मत संख्याको आधारमा कुन दलबाट कति सदस्य निर्वाचित हुने निर्णय निर्वाचन आयोगले गर्दछ । दलहरुले बुझाएको समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बन्ने सम्भावित व्यक्तिको सूचीको प्राथमिकताका आधारमा समावेशी प्रतिनिधित्वको सिद्धान्तबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुन्छन् ।
समानुपातिक निर्वाचनको व्यवस्था गर्नुको मुख्य उद्देश्य प्रत्यक्ष निर्वाचित हुन नसक्ने पिछडिएको क्षेत्र, जाति, वर्ग र समुदायका मानिसलाई पनि राज्यको शासन प्रणालीमा सहभागी गराउनु हो । प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने, अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई पनि नीति निर्माण तहमा सहभागी गराएर समानुभूतिको अवसर प्रदान गर्न समानुपातिक निर्वाचन प्रणाली ल्याइएको हो । प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न उम्मेद्वारले साम, दाम, दण्ड, भेदजस्ता सबै राजनीतिक दाउपेच प्रयोग गर्नुपर्ने र भोट पाउन पद, पैसा, पावर, लोकप्रियता आवश्यक पर्ने हुन्छ । यस प्रणालीबाट सबै जाति, समुदाय, वर्ग, क्षेत्रका मानिस निर्वाचित हुने निश्चितता नभएका कारण सबैको सहभागिता सुनिश्चित गर्नका लागि समानुपातिक निर्वाचन प्रणाली लागू गरिएको भए पनि राजनीतिक दलको प्रमुख नेतृत्वको मनलाग्दी कार्यशैलीले समानुपातिक प्रणालीको दुरुपयोग भइरहेको छ
दलको शिर्ष नेतृत्वमा रहेका व्यक्तिहरु नै समानुपातिकबाट निर्वाचित हुने गरेका छन् । नेतृत्वको आफन्त, आसेपासे, व्यापारी, ठेकेदार, बिचौलियाहरुलाई समानुपातिकको सूचीमा समावेश गराउन दलहरुबिच प्रतिस्पर्धा हुने गरेको छ । जसको प्रतिनिधित्वको लागि समानुपातिक व्यवस्था ल्याइयो उनीहरु यसबाट खासै लाभान्वित हुन पाएका छैनन् । विगतमा जस्तै यस पटकको निर्वाचनमा पनि नयाँ–पुराना सबै राजनीतिक दलहरुले शिर्ष नेतृत्व र उच्च पदस्थ व्यक्तिका घर, ससुराली, माइती, मावलीसम्मका आफन्त र पार्टी तथा नेतालाई आर्थिक सहयोग गरेका वा गर्न सक्नेहरुलाई नै समानुपातिक सूचीको प्राथमिकतामा राखिनुले यसको विकृत रुपलाई उजागर गरेको छ । प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न डराउने नेतृत्व र आफन्तलाई सांसद बनाउने समानुपातिक निर्वाचन प्रणालीलाई विकृत बनाइरहने हो भने यसको विकल्प सोच्नु उचित हुनेछ ।
