हेटौँडा : जाडो बढेको भन्दै हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका विद्यालयमा २ दिन विदा दिने निर्णय पालिकाले गरेको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले बुधबार सूचना जारी गर्दै विगत केही दिनदेखि हेटौँडा उपमहानर तथा आसपासका क्षेत्रमा शितलहरको प्रभाव परेको उल्लेख गर्दै यसको प्रत्यक्ष असर बालबालिकामा परेको र पठनपाठनमा समस्या आएको भनी विद्यालयहरुबाट गुनासो आएपछि बिदा दिने निर्णय गरिएको जनाएको छ ।
सामान्यतया जाडो विदा हेटौँडामा खासै दिने गरेको नभएपनि हाल शितलहर के कारणले दुई दिनका लागि सामुदायिक, संस्थागत तथा मन्टेश्वरीहरु समेतले विद्यालय व्यवस्थापन समितिको निर्णयमा वार्षिक रुपमा खर्च गर्न मिल्ने स्थानीय बिदाबाट कट्टा हुने गरी बिदा दिन महाशाखाले निर्देशन दिएको छ । स्थानीय बिदा खर्च भइसकेको विद्यालयको हकमा शनिबार तथा अन्य सार्वजनिक बिदाको दिन पठनपाठन गरी क्षति आपुरण गर्ने गरी पुस १७ र १८ गते २ दिन जाडो विदा दिन उपमहानगरपालिकाले निर्देशन दिएको छ । भौतिक रूपमा व्यवस्थित विद्यालयले भने यथास्थितिमा विद्यालय खोल्न सक्ने तथा मौसममा सुधार देखिएमा भने नियमित पठनपाठन सञ्चालन गर्नुपर्ने महाशाखाले जनाएको छ ।
पालिकाले विदा दिन सूचित गरे पनि केही विद्यालय सुचारु छन् । अधिकांश संस्थागत विद्यालय सुचारु छन् । हेटौँडामा बिहीबार बिहानैदेखि घाम लागेको छ । हेटौँडाको मौसम पनि सफा छ । यस्तै मकवानपुरको मनहरी गाउँपालिकाले पनि जाडो बिदा दिने निर्णय गरेको छ । बुधबार मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले एक सूचना जारी गर्दै अत्यधिक चिसो तथा शितलहरका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना तथा विद्यालयको पठनपाठन क्रियाकलाप नियमितरुप्मा सञ्चालन गर्न समेत कठिनाइ उत्पन्न भएको जनाउँदै वर्षे विदामा मिलान हुने गरी बिहीबार र शुक्रबार गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरु बन्द हुने उल्लेख गर्नुभएको छ ।
