Home मुख्य समाचार थाहा नगरपालिकास्थित सुनौलो माविको स्वर्ण महोत्सव सुरु

थाहा नगरपालिकास्थित सुनौलो माविको स्वर्ण महोत्सव सुरु

हेटौँडाः मकवानपुरको थाहा नगरपालिका–१, कुन्छालमा रहेको सुनौलो माध्यमिक विद्यालयको स्वर्ण महोत्सव बुधबारबाट सुरु भएको छ । बागमती प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष प्रमोद गोपालीको सभाध्यक्षता स्वर्ण महोत्सवको उद्घाटन गरिएको हो ।

विद्यालयले बुधबारदेखि शुक्रबारसम्म विविध कार्यक्रम गरेर स्वर्ण जयन्ती महोत्सव मनाउने भएको छ । बुधबार उद्घाटनको क्रममा विद्यार्थी, अभिभावक र समुदायका मानिसहरूले मौलिक झाँकी प्रदर्शनी गरेको विद्यालयका पूर्वप्रधानाध्यापक कृष्णप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

स्वर्ण महोत्सवको अवसरमा नगरस्तरीय छात्रा भलिबल प्रतियोगिताको उद्घाटन भएको छ । भलिबल प्रतियोगितामा थाहा नगरपालिकाका ९ वटा विद्यालयको सहभागिता रहेको छ । भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, थाहा नगरपालिका अध्यक्ष विष्णुबहादुर बिष्ट र उपाध्यक्ष भरत गोपालीको विशिष्ट आतिथ्य रहेको थियो । साथै, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

स्वर्ण महोत्सवमा बिहीबार विघटित प्रतिनिधिसभा सदस्य महेश बर्तौलाको प्रमुख आतिथ्य रहनेछ । विद्यालयले बिहीबार १२ वटा विद्यालयको सहभागितामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । नगरस्तरीय नृत्य प्रतियोगिता, अभिभावकहरूलाई म्युजिकल चेयर र घैँटो फुटाई कार्यक्रमको आयोजना गरेको छ । भलिबल प्रतियोगिताका खेलहरू पनि सञ्चालन हुनेछन् ।

Exit mobile version