Home मुख्य समाचार चिसोबाट बचाउने उपाय

चिसोबाट बचाउने उपाय

पुस महिनाको बिचतिर चिसो निकै बढेको छ । तराई, पहाड, हिमाल सबैतिर चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धालाई असर पुग्दछ । हिउँदको समयमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्वभाविकरुपमा तापक्रम कम हुने भए पनि चिसोको बढी प्रभाव तराई क्षेत्रमा पर्ने गरेको छ । पहाडी तथा हिमाली क्षेत्रमा रातको समयमा चिसो बढी भए पनि दिउँसो प्रायः घाम लाग्ने भएकाले त्यसले प्रत्यक्ष प्रभाव पार्दैन । तर, तराई मधेशमा जाडोको समयमा हप्तौँ घामको अनुहार नै नदेखिने र दिउँसै शितलहर चल्ने गरेका कारण जनजीवन निकै कष्टकर हुने गरेको छ । हेटौँडामा पनि पछिल्लो तीन दिनदेखि दिउँसो घाम राम्ररी लागेको छैन । सोमबार दिउँसो केही समय घाम लागे पनि मंगलबार दिनभर घाम लागेन । बुधबार पनि दिउँसोबाट केही समयमात्र घाम लागेको छ । मनहरी, हाँडीखोला तथा हेटौँडा आसपासका अन्य क्षेत्रमा पनि केही दिनदेखि घाम लागेको छैन ।

हिउँदमा चिसो हुनु, शितलहर चल्नु सामान्य कुरा हो । तर, चिसो बढेसँगै विशेषगरी न्यून आय भएकाहरुको जीवन कष्टकर बन्ने गरेको छ । बाक्लो र न्यानो कपडा नहुने, बस्ने घर गतिलो नहुने, न्यानो ओढ्ने–ओछ्याउने कुरा नहुने, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरु चिसोबाट प्रत्यक्ष प्रभावित हुन्छन् । चिसोको समयमा विद्यालयको अध्ययन–अध्यापनमा पनि कठिनाइ हुन्छ । चिसो बढेकै कारण तराई–मधेश र अन्यत्रका धेरै स्थानीय तहहरुले केही दिन विद्यालयमा बिदा दिएका छन् । मकवानपुरको पनि मनहरी गाउँपालिकाले पुस १७ र १८ गते दुई दिन विद्यालयमा बिदा दिइएको सूचना जारी गरेको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले पनि वर्षे बिदाबाट मिलान गर्नेगरी वा पछि बिदाको दिनमा विद्यालय सञ्चालन गर्नेगरी १७ र १८ गते विद्यालय बिदा गर्न सकिने भन्दै सूचना जारी गरेको छ । डिभिजन वन कार्यालय हेटौँडाले मंगलबार वृद्धाश्रमहरुलाई दाउरा वितरण गरेको छ ।

हुनेखाने वर्गका मानिसका लागि चिसो मौसम रमाइलो गर्ने अवसर भए पनि हुँदाखाने वर्गका निम्ति भने कठोर कालतुल्य समय हो । चिसो बढ्यो भने बाक्लो र न्यानो कपडा लगाउने, घरमा हिटर वा एसी प्रयोग गर्ने, बाहिर क्याम्पफायर गर्ने, तातो परिकारहरु खाने, अझ हिउँ पर्यो भने हिउँ खेल्न जानेहरुका लागि जाडो मौसम रमाइलै हुन्छ । न्यून आर्थिक अवस्थाका मानिस जसको पक्की घर छैन, बाक्लो र न्यानो लुगा छैन, दुईछाक राम्रोसँग खान धौ–धौ छ उनीहरुका लागि जाडो मौसम कहर बन्छ । चिसोमा न्यानो पार्न दाउरा बालेर ताप्ने क्षमतासमेत नभएकाहरुले चिसोसँग संघर्ष गर्नुको विकल्प छैन । भोजनको अभाव र तातोका लागि न्यानो लुगा तथा दाउरासमेत नभएका विपन्न परिवार चिसोमा कठ्याङ्ग्रिएर बस्न बाध्य बन्ने अवस्थाको अन्त्य हुनुपर्छ । यसका लागि स्थानीय सरकार र वडा कार्यालहरुले विशेष निगरानी राख्ने र त्यस्ता विपन्न वर्गलाई चिसोबाट बचाउन केही राहतको प्रबन्ध हुनु उचित हुनेछ ।

चिसो बढेसँगै हरेक स्थानीय सरकारले चिसाबोट बचाउन आवश्यक उपाय अपनाउनु आवश्यक छ । चिसो सुरु हुनुअघि नै चिसोले बढी प्रभावित हुनसक्ने परिवारको लगत संकलन गरेर त्यस्ता परिवारका लागि आवश्यक प्रबन्ध गर्न सकेमा सरकारको अनुभूति आम नागरिकले गर्न पाउनेछन् । चिसो बढेर जनजीवन प्रभावित हुनु पनि एक प्रकारको विपद् हो । यस्तो विपद् स्थानीय सरकारले मात्रै व्यवस्थापन गर्न नसक्ने अवस्था भएमा प्रदेश र संघीय सरकारलाई गुहार्नुपर्छ । सम्बन्धित स्थानीय तहमा रहेका सामुदायिक वन उपभोक्ता समूह, सहकारी, टोल विकास संस्था, क्लबहरु तथा अन्य सामाजिक संघसंस्थासँग समन्वय गर्नुपर्छ । उद्योगी, व्यवसायी तथा आर्थिकरुपले सम्पन्न व्यक्तिहरुसँग पनि स्थानीय सरकारले सहयोग लिएर चिसोबाट जनजीवन कष्टकर हुन नदिन आवश्यक उपाय अपनाउनु उचित हुनेछ ।

Exit mobile version