हेटौँडाः मोरङ जिल्लाको बेलबारी निवासी उपन्यासकार मधु गुरुङको ‘जीवनको गीत’ उपन्यासमाथि हेटौँडामा विमर्श कार्यक्रम सम्पन्न भएको छ । मंगलबार साहित्य सङ्गम मकवानपुरको आयोजनामा हेटौँडा–४, भैरवरोडस्थित साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपालको सभाहलमा कार्यक्रम भएको हो ।

कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका पूर्वअध्यक्ष एवम् श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका महासचिव सुवास खनाल र भीम विराग सङ्गीत, कला, साहित्य प्रतिष्ठानकी कोषाध्यक्ष निरा शर्माले उपन्यासको समीक्षा गर्नुभएको थियो । उपन्यासमा श्रमजीवी वर्गका र खासगरी महिला पात्रका दुःख र सङ्घर्षका कथाहरु चित्रण गरिएको खनालले बताउनुभयो । यो उपन्यास पितृसत्तात्मक समाजले सृजना गरेको समस्याको विरुद्धमा लेखिएको उहाँको भनाइ छ । एउटा श्रमजीवी महिलाले सङ्घर्ष गरेर समाजमा स्थापित हुँदा भोग्नुपर्ने समस्याहरु उपन्यासमा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो ।

समीक्षक शर्माका अनुसार प्रगतिवादी चेतबाट लेखिएको यस उपन्यासमा समाजमा रहेका वर्गीय विभेद, आर्थिक विभेद, जातीय विभेद, लैङ्गिक विभेद र महिला श्रम शोषणको वास्तविक अवस्थाको चित्रण गरिएको छ । नारीलाई घरपरिवारमा दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने र घरको अभिभावक कुलतमा लाग्दा बालबच्चाको भविष्य कस्तो हुन्छ भन्ने विषय उपन्यासमा उल्लेख गरिएको उहाँको भनाइ छ । यो उपन्यास पूर्वी नेपाल खासगरी मोरङ जिल्लाको सामाजिक परिवेशमा आधारित रहेको छ ।

जनवादी गायिका एवम् उपन्यासकार गुरुङको यो तेस्रो कृतिको रुपमा प्रकाशित पहिलो उपन्यास हो । ‘जीवनको गीत’ उपन्यास गत मंसिर २० गते प्रकाशन भएको हो । यसअधि विसं २०५६ सालमा ‘कर्णालीमा हाम्रो सांस्कृतिक पाइला’ पुस्तक र २०६४ सालमा ‘बाटो रोजेँ’ गीति सङ्ग्रह प्रकाशन भएको थियो । गुरुङ विसं २०७० सालको संविधानसभा सदस्यसमेत हुनुहुन्छ । उहाँले हालसम्म २ सयभन्दा बढी गीत लेख्नुका साथै ३ सयभन्दा बढी गीतमा संगीत दिनुभएको छ ।

साहित्य सङ्गमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा भएको विमर्श कार्यक्रममा प्रमुख अतिथि साहित्यकार केदार न्यौपाने र विशिष्ट अतिथि उपन्यासका लेखक गुरुङ हुनुहुन्थ्यो ।