हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित दिपेन्द्र चोकमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सोमबार राती १० बजेको समयमा ना. २ ह ३१७७ नम्बरको अटो र ना ६२ प ९७६३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक चितवन माडी नगरपालिका–८ बस्ने १८ वर्षीय आयुश प्रजा, पछाडी सवार भरतपुर महानगरपालिका–७ बस्ने १८ वर्षीय विजय तामाङ, भरतपुर महानगरपालिका–१३ बस्ने १८ वर्षीया मिना र अटो चालक चितवन कालिका नगरपालिका–७ का ३६ वर्षीय धनबहादुर गुरुङ घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा अटो चालक गुरुङको राती ११ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।











