वन समूहबाट पुरस्कृत विद्यार्थीहरु ।

हेटौँडा : हेटौँडा–१८ स्थित गोरक्षनाथ सामुदायिक वन उपभोक्ता समूहको ३२ औँ वार्षिक साधारण भेला सम्पन्न भएको छ । शनिबार विविध कार्यक्रमको आयोजना गरी साधारण भेला सम्पन्न गरेको वन समूहका अध्यक्ष रोशन थापाले जानकारी दिनुभयो ।

साधारण भेलाको अवसरमा २० वर्षदेखि वनका संरक्षक रूपमा रहेका सन्तबहादुर घिसिङलाई नगद ५ हजारसहित सम्मान गरिएको छ । साधारण सभाकै अवसर पारेर वनले १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ भने २०८१ सालको एसइइमा उत्तीर्ण वन उपभोक्ता परिवारका १३ जना विद्यार्थीलाई सम्मान गरेको वनका अध्यक्ष थापाले जानकारी दिनुभयो । भेलाकै अवसरमा पाँचजना अपाङ्गहरूलाई राहतस्वरूप खाद्यान्न सामान वितरण, तेक्वान्दो खेलाडी (अन्तर्राष्ट्रिय विजेता) सुदर्शन खतिवडालाई सम्मान गरिएको थियो । भेलाको क्रममा उपभोक्ताको परिवारमा मृत्यु भएमा मृत्यु संस्करण सहयोगबापत ४ हजार, सुत्केरी भएमा एक हजार ५ सय र गोबर ग्यास निर्माण गर्नेलाई ३ हजार रुपैयाँ दिने निर्णय गरेको छ । मृत्यु संस्करण सहयोगवापत यसअघि वन समूहले ३ हजार रुपैयाँ दिँदै आएको थियो ।

वनका अध्यक्ष थापाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष रन्जु थापाले समूहको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । साथै सचिव ज्वाला पराजुलीले आगामी वर्षको योजना प्रस्तुत गर्नुभएको थियो । वन समूहका अध्यक्ष रोशन थापाको सभाध्यक्षता तथा हर्नामाडी सब–डिभिजनकी जमुना तिमल्सिनाको प्रमुख आतिथ्यमा भेला भएको हो ।