हेटौंडाः हेटौंडा–६, गौरीटारमा रहेको आइसोलेसन वार्डलाई व्यवस्थित गर्न सरोकार समिति गठन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६, १५ र १६ नम्बर वडाको सीमानामा रहेको आइसोलेसन वार्डलाई व्यवस्थित गर्न स्थानीयको सहभागितामा आइतबार सरोकार समिति गठन गरिएको हो ।

हेटौंडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई संयोजक र हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोईराला र हेटौंडा १५ का वडा अध्यक्ष महारत्न लामा सहसंयोजक रहने गरी १७ सदस्यीय सरोकार समिति गठन गरिएको हो । सरोकार समितिमा ३ वटै वडाभित्र रहेका राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था र युवा क्लबहरुको प्रतिनिधिहरुको सहभागिता रहेको छ । जसमा १५ नम्बर वडाबाट नेकपाका प्रतिनिधि गीताप्रसाद दुलाल, १६ नम्बर वडाबाट नेपाली कांग्रेसका प्रतिनिधि कृष्णप्रसाद पनेरु, राप्रपाबाट हेटौंडा ६ का गुरुप्रसाद सापकोटा रहेका छन् ।

समितिमा मेडिकल ल्याबरोटरी एसोसिएसन अफ नेपालका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाई, टोल विकास संस्था ६ नम्बर वडा समन्वय समितिका सचिव एवम् सञ्चारकर्मी विजय पौडेल, माथिल्लो गौरीटार टोल विकास संस्थाबाट पुरुषोत्तम ढकाल, गौरिशिखर टोल विकास संस्थाबाट प्रकाश पुडासैनी, सृजनशील टोल विकास संस्थाबाट प्रितम राना, श्रीकृष्ण प्रणमी मन्दिरबाट सन्दिप न्यौपाने, डाँफे युवा क्लबबाट सुशील न्यौपाने, चित्रेपानी सामुदायिक वन समितिबाट सूर्यबहादुर घलान, जरुङशक्ति सामुदायिक वन उपभोक्ता समितिबाट कुमार सिंह खड्का र स्थानीयबाट गोविन्द नेगी रहेका छन् । सरोकार समति गठन गर्ने क्रममा हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले आइसोलेसन वार्डलाई थप व्यवस्थित गर्न थप सहयोग पुग्ने बताए ।