हेटौँडा : कोही भोको बस्न नपरोस्, आधारभूत भोजन सहुलियत दरमै प्राप्त हुने अवस्था रहोस् भन्ने सदाशयसहित हेटौँडामा एक सय रुपैयाँमै खाना खुवाउन सुरु गरिएको छ । हेटौँडा–४, हुप्रचौरमा ‘भट्टी चुल्हो’ नामक होटलले बुधबारबाट एक सय रुपैयाँमै खाना खुवाउन सुरु गरेको हो ।
हेटौँडाका व्यवसायी सिद्धिलाल श्रेष्ठले सहुलियतमा खाना खुवाउने परिकल्पनासहित युवा व्यवसायीसँगको साथमा भट्टी चुल्हो सञ्चालनमा आएको हो । व्यवसायी श्रेष्ठको परिकल्पनालाई सार्थक तुल्याउन अमृत श्रेष्ठ र प्रविण श्रेष्ठ दाजुभाइले भट्टी चुल्हो सञ्चालनमा ल्याउनुभएको हो ।
बिहान ९ बजेदेखि १ बजेसम्म एक सय रुपैयाँमै सादा खाना खुवाउने गरी भट्टी चुल्हो सञ्चालनमा ल्याइएको व्यवसायी सिद्धिलाल श्रेष्ठले बताउनुभयो । युवा भाइहरुको सहयोगमा सहुलियतमा खाना खुवाउने प्रयास गरिएको बताउनुभयो । खाली रहेको १ कठ्ठा जमिनमा नयाँ संरचना निर्माण गरी भट्टी चुल्हो सञ्चालनमा ल्याइएको हो । करिब ३० लाख रुपैयाँ लगानीमा निर्माण गरिएको होटलमा एक साथ ७० जनासम्मलाई खाना खुवाउन सकिने व्यवस्था रहेको छ ।
