Home मुख्य समाचार बागमतीकी मुख्य न्यायाधिवक्ता बस्नेतले लिइन् शपथ

बागमतीकी मुख्य न्यायाधिवक्ता बस्नेतले लिइन् शपथ

मुख्य न्यायाधिवक्ताको सपथ ग्रहण गर्नुहुँदै बस्नेत ।

हेटौँडा : बागमती प्रदेशकी नवनियुक्त मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय हेटौँडामा मंगलबार आयोजित एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले मुख्य न्यायाधिवक्ता बस्नेतलाई शपथ गराउनुभएको हो ।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम मुख्य न्यायाधिवक्ता बस्नेतले शपथ लिएकी हुन् । शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईँ, प्रदेश सरकारका मन्त्रीहरू लगायतको उपस्थिति थियो ।

मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले बस्नेतलाई आइतबार मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानूनी सल्लाहकार रहने व्यवस्था रहेको छ । प्रदेश सरकारलाई कानूनी विषयमा राय, सल्लाह र निर्देशन प्रदान गर्नुका साथै, प्रदेश सरकारको तर्फबाट अदालतमा उपस्थित भई प्रदेशको प्रतिनिधित्व गर्ने जिम्मेवारीसमेत मुख्य न्यायाधिवक्ताको रहनेछ । बस्नेत मुख्य न्यायाधिवक्ता नियुक्त हुने पहिलो महिला समेत हुनुहुन्छ ।

Exit mobile version