Home मुख्य समाचार साइबर सुरक्षासम्बन्धी सचेतना

साइबर सुरक्षासम्बन्धी सचेतना

कार्यक्रमको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : समाज विकास तथा वातावरण सुधार नेपाल संस्था (सोडिई नेपाल) को आयोजनामा साइबर सुरक्षासम्बन्धी एक दिवसीय चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार आरकेसिएनएल आईटेक लिमिटेड भक्तपुरको सहयोगमा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा साइबर सुरक्षा विज्ञ कुमार पुडासैनीले साइबर सुरक्षासम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले साइबर सुरक्षाको विषयमा नेपाल विश्वकै सबभन्दा कमजोर देशको रूपमा रहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा वर्षेनि १५ प्रतिशत ठगीका घटना सामाजिक सञ्जालबाट हुने गरेको उहाँले जानकारी दिनुभयो ।

साइबर सुरक्षा एउटा डरलाग्दो विषय भएको पुडासैनीले दाबी गर्नुभयो । सन् २०२५ मा सबभन्दा बढी एआईमार्फत आक्रमण भएको उहाँले बताउनुभयो । ‘आक्रमणकारीले आक्रमण गरेको १८ मिनेटमै सबै डाटा चोर्न सक्छन्’, पुडासैनीले भन्नुभयो– ‘उनीहरू सबभन्दा बढी आर्थिक क्षेत्रलाई लक्षित गर्दछन् ।’ उहाँका अनुसार अहिलेको समयमा डाटाले नै नयाँ इन्धनको रूपमा काम गर्दैछ ।

साइबर सुरक्षामा प्रयोगकर्ता स्वयम् जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । निःशुल्क सफ्टवेयरको प्रयोग गर्ने बानी र अध्ययन नै नगरी एप्स तथा सफ्टवेयरलाई अनुमति दिँदा नेपालमा साइबर आक्रमण भएको उहाँले औँल्याउनु भयो ।

प्रविधिको व्यवस्थित र दिगो प्रयोगले मात्र सुरक्षित हुने उहाँको भनाइ छ । आफूले प्रयोग गरिरहेको सामाजिक सञ्जाल आईडी, ईमेललगायतको पासवर्ड समय–समयमा परिवर्तन (अपडेट) गर्न उहाँले सुझाव दिनुभयो । नेपालमा अहिलेसम्म साइबर सुरक्षासम्बन्धी कानुन बनेको छैन । यसको सट्टा विद्युतीय कारोबार ऐनको प्रयोग हुँदै आएको उहाँको भनाइ छ ।

सोडिई नेपालका सचिव विशाल हुमागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सोडिई नेपालका सञ्चालक कवि पुडासैनीको विशिष्ट आतिथ्य र मकवानपुर जिल्लामा रहेका सहकारीका व्यवस्थापकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्धब घिमिरेले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

Exit mobile version