कैलाश : मकवानपुरको कैलाश गाउँपालिका–१०, गोपीराङमा दश घरमा शौचालय निर्माण हुने भएको छ । तामाङ र सीमान्तकृत चेपाङ समूदायको बसोबास रहेको उक्त ठाउँमा शौचालय निर्माण हुने भएको हो ।
मंगलबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले शौचालय प्यान हस्तान्तरण गर्दै समय सीमाभित्र निर्माण गर्न आग्रह गर्नुभएको छ । राज्यले एक घर एक धाराको अवधारणा ल्याएसँगै उक्त अवधारणाको सूचकमा शौचालय र सरसफाई रहने अध्यक्ष मुक्तानले बताउनुभयो । जथाभावी दिसा–पिसाबले विभिन्न रोग, पानीजन्य रोगहरु लाग्ने भएकाले शौचालयमै दिसा–पिसाब गर्न उहाँले सुझाव दिनुभएको छ । गाउँपालिकाले छिट्टै सुरक्षित खानेपानीका लागि काम गर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष मुक्तानले घरसँगै चर्पी निर्माण गर्नुपर्ने दायित्व स्थानीयको भएको बताउनुभयो ।
कार्यक्रममा १० नम्बर वडाध्यक्ष सूर्यबहादुर ब्लोनले सरसफाइमा ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले शौचालय निर्माणपछि बालबालिका र ज्येष्ठ नागरिकलाई सहजता हुने बताउनुभयो । ३५/३६ घरधुरी रहेकोले पहिलो चरणमा १० घरलाई शौचालय निर्माण गरिने र समयमै निर्माण सके दोस्रो चरणमा १० घरलाई शौचालय निर्माण सामग्री वितरण गरिने वडाध्यक्ष ब्लोनले बताउनुभयो ।
बाल विकास कार्यक्रम नेपालले पहिलो चरणमा १० घरधुरीलाई शौचालय निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण निर्माण सामग्री सहयोग गरेको हो । यसअघि कैलाश–३, खिर्कीमा २० घरधुरीलाई शौचालय निर्माणका लागि आवश्यक सामग्री हस्तान्तरण गरी निर्माण कार्य भइरहेको छ । संस्थाले गाउँपालिकाभित्र शिक्षा र स्वास्थ्यसँग सम्बन्धित विभिन्न काम गर्दै आइरहेको छ । हस्तान्तरण कार्यक्रममा बाल विकास कार्यक्रम नेपाल कार्यक्रम संयोजक कमल अर्यालको पनि उपस्थिति रहेको थियो । संस्थाको निमय र लाभग्राहीसँगको सम्झौता अनुरुप सामग्री हस्तान्तरण गरेको २५ दिन भित्र शौचालय निर्माण सम्पन्न गर्नुपर्ने जनाइएको छ । शौचालय निर्माणका लागि सिमेन्ट, रड, प्यान, जस्तापाता, बालुवालगायत आवश्यक सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।
