हेटौँडा : मकवानपुरको बागमती गाउँपालिका–१, माझगाउँस्थित सूर्य माध्यमिक विद्यालयले ५१ औँ वार्षिकोत्सव मनाएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राईको सभाध्यक्षता तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको विद्यालयका प्रधानाध्यापक राजकुमार राईले जानकारी दिनुभयो ।
विद्यालयले मङ्सिर २९ गते मंगलबारदेखि पुस ३ गते बिहीबारसम्म विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ । विद्यालयले मङ्सिर २९ गते शिक्षकहरूलाई शिक्षण सिकाइमा आधारित एक दिने तालिमको आयोजना गरेको थियो । पुस १ गते मंगलबार सरसफाई तथा चित्रकला कार्यक्रमको आयोजना गरेको प्रधानाध्यापक राईले जानकारी दिनुभयो । पुस २ गते बुधबार विद्यालयले विविध खेलकुद कार्यक्रमको आयोजना गरेको थियो । खेलकुद अन्तर्गत दौड, ज्याभलिङ थ्रो, सट पुट, हाइ जम्प, लङ्ग जम्प, छात्र÷छात्रा फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो ।
यस्तै बिहीबार नेपाल रेडक्रस सोसाइटी फापरबारी उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो । वार्षिकोत्सवको अवसरमा विधागत रूपमा उत्कृष्ट शिक्षक÷शिक्षिका, उत्कृष्ट अभिभावक, उत्कृष्ट विद्यार्थी तथा बागमती गाउँपालिकास्तरीय आधारभूत तह (कक्षा–८) र माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट जिपिए ल्याउने २ जना छात्र–छात्रालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । साथै खेलकुद, चित्रकला, म्युजिकल चियरलगायत विभिन्न प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य खड्गबहादुर पुलामी, बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, सामाजिक विकास समितिका संयोजक कमानसिं पाख्रिन, वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष हस्तबहादुर थिङ, शिक्षा शाखा प्रतिनिधि प्रमोदकुमार राई, विभिन्न विद्यालयका प्रधानाध्यापक, संघ–संस्थाका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
