Home मुख्य समाचार हेटौँडा ‘प्रेतात्माको शहर’ जस्तो भयो : मुख्यमन्त्री बानियाँ

हेटौँडा ‘प्रेतात्माको शहर’ जस्तो भयो : मुख्यमन्त्री बानियाँ

भवनको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा बजार क्षेत्र प्रेतात्माको शहर जस्तो भएको टिप्पणी गर्नुभएको छ । हेटौँडा बजार क्षेत्रको सडक विस्तारको काम बारे टिप्पणी गर्नुहुँदै उहाँले हेटौँडा ‘मानव बिनाको शहर’ जस्तो देखिएको बताउनुभएको हो ।

विपी कोइरालाको स्मृतिमा स्थापित वाचनालय र नेपाली कांग्रेस मकवानपुरका संस्थापक सभापति सूर्यबहादुर डिमडुङको स्मृतिमा पार्टी कार्यालय परिसरमा निर्मित तीन कोठे भवनको सोमबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले सरकारले उचित व्यवस्थापन र विकल्प बिना नै हेटौँडा बजारका घरहरु भत्काउँदा शहर कुरुप बनेको बताउनुभएको हो । ‘उज्यालो नेपाल पार्टी’ लाई कटाक्ष गर्नुहुँदै नाम उज्यालो भए पनि हेटौँडालाई अँध्यारो बनाउने काम गरेको उहाँले टिप्पणी गर्नुभयो । मुख्यमन्त्री बानियाँले पछिल्लो समय राजनीतिमा प्रतिशोधको भावना बढेको र संकटको बेला संघर्ष गर्ने नेतृत्वको अभाव देखिएको बताउनुभयो ।

‘व्यवस्था चलाउन सरकार कठोर बन्नुपर्छ । तर निर्दयी बन्नु हुँदैन ।’ उहाँले भन्नुभयो, ‘अव्यवस्थित सडक विस्तारका कारण हेटौँडाको अवस्था अहिले प्रेतात्माको शहर जस्तो देखिएको छ । यसलाई तीनै तहका सरकारले मिलेर तत्काल निकास दिनुपर्छ ।’ मुख्यमन्त्री बानियाँले पार्टीभित्र राजनीतिक धैर्यता कमजोर बन्दै गएको बताउनुभयो । महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै कांग्रेस फुट्छ भन्ने भ्रम अन्त्य भएको उहाँले स्पष्ट पार्नुभयो । कांग्रेसलाई पुनर्जिवित र पुनर्जागृत गराउनुपर्नेमा जोड दिनुहुँदै अहिले नेतृत्व सम्हालिएको उहाँको भनाई छ । पञ्चायत विरुद्धको संघर्ष र लोकतन्त्र स्थापनामा कांग्रेसको ऐतिहासिक भूमिका रहेको उहाँले दावी गर्नुभयो । गणतन्त्रमा हिंसा, तोडफोड र व्यक्तिको घर जलाउने जस्ता कार्य किमार्थ स्वीकार्य नहुने मुख्यमन्त्री बानियाँले बताउनुभयो ।

Exit mobile version