Home मुख्य समाचार मुख्यमन्त्रीले बनाइदिए विपन्न चेपाङको घर

मुख्यमन्त्रीले बनाइदिए विपन्न चेपाङको घर

घर हस्तान्तरण कार्यक्रममा नमूनाको रुपमा साँचो हस्तान्तरण गर्नुहुँदै मुख्यमन्त्री बानियाँ ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट खर्च गर्नेगरी मकवानपुरको कैलाश गाउँपालिका–४ का एक विपन्न चेपाङ परिवारको घर निर्माण गरिदिएका छन् । आइतबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री बानियाँले कैलाश गाउँपालिका–४, धुसरका लालकुमार चेपाङलाई घर हस्तान्तरण गर्नुभएको छ ।

कैलाश गाउँपालिकाले अति विपन्नको रुपमा पहिचान गरी उनीहरुको घर निर्माण गर्न मुख्यमन्त्री बानियाँलाई सिफारिस गरेको थियो । गाउँपालिकाको सिफारिसपछि मुख्यमन्त्री बानियाँले आफूले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट खर्च गर्नेगरी केही महिनाअघि घर निर्माण सुरु गराउनुभएको थियो । करिब ८ लाख रुपैयाँ लगानीमा ३ वटा कोठाको जस्ताले छाएको घर र शौचालय निर्माण गरिदिनु भएको हो । पचास वर्षीय लालकुमार जीर्ण र असुरक्षित घरमा बस्दै आएका थिए । सानै उमेरमा हात जलेर सानुमाया आंशिक अपांग छिन् । दुई कट्ठा नम्बरी र झण्डै चार कठ्ठा ऐलानी जग्गा छ, तर आर्थिक अभावका कारण उनीहरू सुरक्षित घर निर्माण गर्न असमर्थ थिए । घर निर्माणसँगै ओढ्ने, ओच्छ्याउनेलगायतका लत्ताकपडाको व्यवस्थापन कैलाश गाउँपालिकाले गरिदिने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले घोषणा गर्नुभयो ।

घर हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले विपन्न नागरिकलाई आफूले सेवा सुविधाको रकम खर्च गरेर घर निर्माण गर्नुका साथै प्रदेश सरकारमार्फत पनि आवास कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरू गाँस, बास र कपासबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफूले काम अघि बढाएको उहाँको भनाइ छ । बागमती प्रदेशका गरिब, निमुखा, दलित, सिमान्तकृत, एकल महिलालगायतलाई समेटेरे एक हजार वटा घर निर्माण गरी हस्तान्तरण गर्ने योजनाका साथ प्रदेश सरकारले कार्यविधि बनाएर अघि बढ्न लागेको मुख्यमन्त्री बानियाँले जानकारी दिनुभयो ।

घर निर्माणसँगै उनीहरुलाई आयआर्जनका लागि बिना व्याजमा प्रतिपरिवार २ लाख रुपैयाँ ऋणसमेत दिइने मुख्यमन्त्रीको भनाइ थियो । कार्यक्रमकैबीच मुख्यमन्त्री बानियाँले चेपाङ दम्पतिलाई आयआर्जनका लागि बाख्रा पालन गर्न अनुरोध गर्दै २० हजार रुपैयाँसमेत सहयोग हस्तान्तरण गर्नुभयो । मुख्यमन्त्री बानियाँले आफ्नो सेवा सुविधाको रकमबाट यसअघि मकवानपुरको मनहरी गाउँपालिका–९ की मिठुमाया सुनारलाई पनि घर निर्माण गरी हस्तान्तरण गरिसक्नुभएको छ भने राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर पनि निर्माणको क्रममा रहेको छ ।

Exit mobile version