हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाले १० वटा विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ । पालिकाले पालिकाभित्र रहेका ६ वटा माध्यमिक विद्यालय र ४ वटा आधारभूत विद्यालयमा विद्युतीय हाजिरी जडान गरी कार्यान्वयन गरेको शिक्षा अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
पालिकाले कैलाश गाउँपालिका–९ स्थित कालिका मावि, कैलाश–१० स्थित रत्नज्योति मावि, कैलाश–३ स्थित भवानी मावि, कैलाश–८ स्थित धुवाङ मावि, कैलाश–२ स्थित कमलादेवी मावि, कैलाश–७ स्थित व्यास माविमा विद्युतीय हाजिरी जडान गरिएको छ भने कैलाश–१ स्थित आधारभूत विद्यालय, कैलाश–२ स्थित सरस्वती आवि, कैलाश–५ स्थित कृष्ण आवि र कैलाश–७ स्थित शक्तिशाली आविमा विद्युतीय हाजिरी जडान गरेको शिक्षा शाखा अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
विद्युतीय हाजिरी जडानपछि शिक्षक हाजिरी रजिस्टर विस्थापित गर्ने, शिक्षकहरूको हाजिरी व्यवस्थापनलाई पारदर्शी, अनुशासित तथा प्रविधिमैत्री बनाउँदै केन्द्रीय सरकारी एकीकृत हाजिरी व्यवस्थापन प्रणालीसँग जोड्ने उद्देश्यले विद्यालयमा विद्युतीय हाजिरी उपकरण जडान गरी कार्यान्वयन गरिएको उहाँले बताउनुभयो । पालिका भित्र ६ वटा मावि, ४ वटा निमावि र ३३ वटा प्रावि गरी ४३ वटा विद्यालय रहेका छन् । पालिकाको शिक्षा शाखा अधिकृत दीपेन्द्र अधिकारीका अनुसार पालिकाभित्र ४३ सामुदायिक विद्यालयमा ४ हजार ८ सय ९२ विद्यार्थी अध्ययनरत छन् ।











