हेटौँडा : हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्ध दायर गरिएको रिट निवेदनमाथि आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ ।
रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकारसमेतले दायर गरेको उक्त रिट सर्वोच्चको इजलास नम्बर ६ को ‘च’ नम्बरमा सुनुवाइका लागि पेशी तोकीएको थियो । तर, इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि आजका लागि तोकिएको सुनुवाइ रोकीएको हो ।
हेटौँडा बजार क्षेत्रमा सडक सीमा २५/२५ मिटर (हाल २५/२५ गज २२.५ मिटर) भित्रका संरचना हटाएर सडक विस्तार गर्न लागिएको भन्दै नेतृ कंसाकारलगायतले गत मंसिर १६ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए । निवेदकहरुले व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको र प्रक्रिया नपुर्याई संरचना हटाउन खोजिएको भन्दै मुद्दा दायर गरेका थिए ।
उक्त रिटमा निवेदकले डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाएका छन् ।
यसअघि मंसिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले निवेदकको माग बमोजिम तत्कालका लागि संरचना नहटाउन र यथास्थितिमा राख्न विपक्षीका नाममा ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको थियो । अदालतले दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफल गर्न बोलाएको थियो ।
त्यस्तै, मंसिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले उक्त मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश गरेको थियो । सोही आदेशानुसार आज (पुस २ गते) का लागि पेसी तोकिएको थियो ।











