हेटौंडाः नेपाल अर्बुद (क्यान्सर) रोग निवारण संस्था मकवानपुरको २३ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका सभापति माधव अधिकारीको सभाध्यक्षता तथा संस्थाका केन्द्रीय उपमहासचिव प्रकाश खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
साधारणसभामा संस्थाका सचिव जयप्रकाश घिमिरेले प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष लक्ष्मण महतले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वक्ताहरुले क्यान्सरजस्तो रोग लागेपछि उपचारभन्दा पनि रोग लाग्नै नदिने उपायहरुमा जोड दिनुभएको छ । क्यान्सर रोग खानपान तथा जीवनशैलीबाट लाग्ने हुनाले विद्यालय, क्याम्पसलगायत शैक्षिक संस्थाहरुमा जनचेतना फैलाउनुपर्नेमा वक्ताहरुले बताएका छन् । खाद्य उत्पादक, कृषक तथा उद्यमीहरुलाई पनि बिषादीरहीत स्वस्थ उत्पादन तथा बेचविखन गर्न जनचेतना फैलाउनुपर्नेमा जोड दिइएको छ ।
क्यान्सरको प्रमुख कारकको रुपमा रहेको सुर्तीजन्य पदार्थहरुको किनबेचलाई व्यवस्थित बनाउन सुर्तीजन्य ऐनलाई प्रभावकारी कार्यान्वयन गराउन सरकारको ध्यानकर्षणसमेत गरिएको छ । संस्थाका बागमती संयोजक गणेश कोइरालाको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा उद्योग संघ हेटौंडाका अध्यक्ष बद्रीनाथ शर्मा, क्षयरोग निवारण प्रतिष्ठानका अध्यक्ष विजयकुमार बैद्य, संस्थाका निवर्तमान सभापति कपिला जोशीलगायतको उपस्थिति थियो ।
