हेटौंडाः हेटौंडा अस्पतालमा साउनयताको ४ महिनामा ८० जना २० वर्षमुनिका किशोरीहरुले प्रसुति सेवा लिएका छन् । यस अवधिमा अस्पतालमा प्रसुति सेवा लिएर सन्तान जन्माउने १ हजार ५६ जनामध्ये ८० जना २० वर्षमुनिका रहेका हुन् ।

गत साउनमा अन्य महिनाभन्दा बढी कम उमेरमा आमा बनेको अस्पतालको तथ्यांकले देखाएको छ । साउन महिना २ सय ८४ जना महिलाहरु सुत्केरी भएकामा २४ जना २० वर्षमुनिका रहेको हेटौंडा अस्पतालले जनाएको छ ।

गत भदौमा २ सय ९ जनाले प्रसुति सेवा लिएको अस्पतालले जनाएको छ । तीमध्ये १९ जना २० वर्ष मुनिका रहेको अस्पतालको तथ्यांक छ । असोज महिनामा ३ सय ७ जना महिलाहरुले प्रसुति सेवा लिएकोमा १९ जना २० वर्षमुनिका रहेका छन् । कात्तिकमा २ सय ५६ जनाले अस्पतालबाट प्रसुति सेवा लिएकोमा १८ जना २० वर्षमुनिका रहेका छन् ।

यस अवधिमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकालगायत विभिन्न गाउँपालिकाका साथै बारा, सर्लाहीलगायत जिल्लाका २० वर्षमुनिका महिलाहरु आमा बनेका थिए । २० वर्षमुनि प्रसुति सेवा लिने अधिकांश शहरी क्षेत्रभन्दा पनि ग्रामीण क्षेत्रबाट आउने गरेको अस्पतालले जनाएको छ ।

२० वर्षमुनि विवाह गरेमा बालबिवाह ठहर हुने कानुनी व्यवस्था रहेको भए पनि २० वर्षभन्दा कम उमेरमै सन्तान जन्माउने महिलाको संख्या उल्लेख्य पाउनुले बालविवाह कायमै रहेको देखाउँछ । कम उमेरमा आमा बन्दा अपरिपक्व शरीर भएका कारण आमा तथा शिशुमा विभिन्न स्वास्थ्य समस्या आउने भए पनि २० वर्षमुनि नै आमा बन्ने क्रममा कमी आउन सकेको छैन ।