हेटौँडा: हेटौँडा–१० स्थित तुलसी मेहर मेमोरियल स्कूलको प्रिन्सीपलमा कमल नेपाल नियुक्त हुनुभएको छ । गत बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले भाइस–प्रिन्सीपल नेपाललाई प्रिन्सीपलको जिम्मेवारी दिने निर्णय गरेको हो ।
पाँच वर्षदेखि नेपाल भाइस–प्रिन्सीपल हुनुहुन्थ्यो । हेटौँडा–९ निवासी नेपाल १४ वर्षदेखि शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । उहाँले यसअघि तराई र काठमाडौँका केही विद्यालयहरूमा अध्ययन गराउनुभएको थियो । उहाँले एसएलसी सर्लाहीबाट पास गर्नुभएको थियो भने प्लस टु, स्नातक र स्नातककोत्तर तह काठमाडौंबाट गर्नुभएको थियो । उहाँले तुलसीमेहर स्कूलसँगै नारायणी कलेजको पनि प्रिन्सीपलको रुपमा रहनुहुनेछ ।
यसअघिका प्रिन्सीपल रघुनाथ खराल अमेरिका जानुभएपछि विद्यालय व्यवस्थापन समिति नेपाललाई प्रिन्सीपलको जिम्मेवारी दिएको हो । नेपालको आगामी दिनमा प्राथमिक तहका विद्यार्थीलाई प्रयोगात्मक र खेल्दै–सिक्दै अवधारणामा पठन–पाठन गराउने योजना रहेको बताउनुभएको छ । अहिले एसईई र बीएली परीक्षाका लागि विद्यार्थीलाई तयारी गराइरहेको नेपालले जानकारी दिनुभयो । विद्यालयले पुस २० गतेबाट दोस्रो त्रैमासिक परीक्षा पनि सञ्चालन गर्नेछ ।
विद्यालयले अहिले गायन र नृत्य प्रतियोगिता सञ्चालन गरिरहेको छ । त्रैमासिक परीक्षा पश्चात विद्यालयले खेलकुद सप्ताह आयोजना गर्ने नवनियुक्त प्रिन्सीपल नेपालले जानकारी दिनुभयो । खेलकुदमा फुटबल, भलिबल, क्रिकेट लगायतका खेलहरू सञ्चालन गरिने छ ।
नारायणी कलेजमा कक्षा–११, १२ र स्नातक तहमा व्यवस्थापन संकायको पठनपाठन भइरहेको छ । स्नातक तहमा भने एउटा मात्रै संकायमा पढाइ भइरहेको छ । १० कक्षासम्म पठनपाठन हुने तुलसीमेहर स्कूलमा एक हजार एक सय जना विद्यार्थी अध्ययनरत छन् ।











