हेटौँडा : नेकपा एमालेको ११औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा बागमती प्रदेशबाट केन्द्रीय नेतृत्वमा ‘प्रमोसन’ हुन चाहने नेताहरुको भीड बाक्लो देखिएको छ । देशकै राजनीतिमा निर्णायक प्रभाव राख्ने बागमती प्रदेशमा एमाले महाधिवेशनको माहोल उच्च बन्दै गएको छ ।
बागमती प्रदेश अन्तर्गत विशेषगरी काठमाडौं उपत्यकाबाहेकका १० जिल्लाबाट मात्र एमाले नेतृत्वमा आकांक्षीहरुको चाप बढ्दो देखिन्छ । मकवानपुरदेखि दोलखासम्मका पहाडी जिल्लाहरुबाट सयभन्दा बढी नेताहरूले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म दावी पेश आएका छन् भने उनीहरु आन्तरिक दौडधूप र लबिइङलाई केन्द्रित छन् ।
जेनजी आन्दोलनपछि पार्टीभित्र पुराना पदाधिकारीहरु फेरिने वा नफेरिने भन्ने विषयमा गम्भीर बहस चलिरहेका बेला बागमतीका आकांक्षीहरुले आफ्नो दावीलाई सशक्त गरिरहेका छन् । एमालेमा आवद्ध युवा पंक्ति पनि नेतृत्वमा दावी गर्दै पुराना नेतृत्वलाई बिदा गर्नुपर्ने मागसहित अघि बढेको देखिन्छ । यद्यपी एमालेले जेनजी आन्दोलन र उक्त मुद्दालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय आउन बाँकी नै छ । मंसिर २७ बाट सुरु हुने एमालेको ११ औं महाधिवेशनमा बागमती प्रदेशका ‘हेभीवेट’ नेताहरुबीच प्रतिस्पर्धा हुने संकेत देखिन्छ । विशेषगरी पदाधिकारी तर्फको ‘सचिव’ पदमा नेताहरुको आकांक्षा बढी देखिएका चुनावी माहोल पनि उच्च हुने संकेत देखिन्छ । एमालेका सचिव बन्न गोकुल बास्कोटादेखि अरुण नेपालसम्मले आकांक्षा व्यक्त गरेका छन् ।
सचिव पदमा काभ्रेका नेता तथा पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सचिव पदमा आफ्नो आकांक्षा सार्वजनिक गर्नुभएको छ । उहाँको दावीले उक्त पदको प्रतिस्पर्धालाई थप पेचिलो बनाएको छ । सोही पदमा सिन्धुपाल्चोकका अरुण नेपालको पनि दावी छ । तत्कालिन नेकपा विभाजन र एमाले भित्रको आन्तरिक विवादको समयमा नेपाल एमालेको १० भाइ टोलीमा खुल्नुभएको थियो भने बास्कोटा केपी ओली निकट रहनुभएको थियो । हाल बास्कोटा ओली क्याम्पबाट बाहिरिएको बुझिएको छ भने नेपाल अझै सोही समुहमा हुनुहुन्छ । नेपाल अष्टलक्ष्मी शाक्य टिम (अमृत बोहोराका विश्वास पात्र) हुनुहुन्छ । एमालेको पदाधिकारीमा सिन्धुपाल्चोकबाट स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले सचिवभन्दा माथिको पदमा आकांक्षा व्यक्त गर्नुभएको छ । उहाँ उप–महासचिव पदका लागि उम्मेदवार बन्ने तयारीमा जुट्नुभएको छ ।
यता देलखाबाट पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल पनि सचिव पदका आकांक्षी हुनुहुन्छ भने पूर्वमन्त्री पार्वत गुरुङ पनि सोही पदको बलियो दाबेदारको रुपमा चर्चा रहेको छ । पोखरेल र गुरुङ दुवै अध्यक्ष ओलीका विश्वासपात्र मानिनुहुन्छ । एमाले महाधिवेशनको सरगर्मीसँगै दोलखाामा लामो समयदेखि चल्दै आएको दुई नेताहरुको अन्तरविरोध र शक्ति–संघर्षका कारण थप रोचक बनाउने देखिन्छ । दोलखाको राजनीतिमा उहाँहरुबीचको प्रतिस्पर्धा पुरानै हो । दोलखाबाटै रचना खड्का र इश्वरी रिजाल पनि सचिव पदमा आकांक्षी रहनुभएको छ । खड्का बागमती प्रदेशकी पूर्वमन्त्री समेत हुनुहुन्छ । उहाँ पनि एमालेको १० भाइ टोली पक्षधर हुनुहुन्छ ।
रामेछापबाट संगठन विभागका सचिव माधव ढुंगेलले पदाधिकारी (सचिव) मा आकांक्षा व्यक्त गर्नुभएको छ । चितवनबाट हाल केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नाम सचिव पदमा चर्चामा छ । चितवनबाट सुरेन्द्र पाण्डे पनि एमाले महाधिवेशनमा पदाधिकारी उठ्ने तयारीमा हुनुहुन्छ । उहाँ इश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गर्ने तयारीमा हुनुहुन्छ । मकवानपुरबाट महेश बर्तौला पनि पदाधिकारी उठ्ने तयारीमा हुनुहुन्छ । एमाले प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसक्नुभएका उहाँले पदाधिकारी बन्ने आकांक्षा अनुसार लविङ गरिरहनुभएको छ । विद्यार्थी राजनीतिबाट आउनुभएका उहाँ हाल केपी शर्मा ओली निकट रहनुभएको छ ।











