हेटौंडा : सर्लाही जिल्लाको हरिपुर नगरपालिका जारी पहिलो संस्करणको हरिपुर गोल्डकप फुटबल प्रतियोगिताबाट हेटौंडा फुटबल एकेडेमी टोली बाहिरिएको छ । सोमबार भएको पहिलो खेलमा पराजित भएसँगै हेटौंडाको टोली प्रतियोगिताबाट बाहिरिएको हो ।
सोमबार भएको खेलमा हेटौंडा फुटबल एकेडेमी रौतहट जिल्लाको चिडियादहा स्टारसँग ३–० गोल अन्तरले पराजित भएको छ । पहिलो खेलमा मकवानपुरको हेटौंडा फुटबल एकेडेमी पराजित भएको हो । चिडियादहाको लागि विज्ञान खड्काले २ र सन्देश चौधरीले १ गोल गरे । यो जितसँगै चिडियादहा स्टार प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हरिपुर नगरपालिकाको मुख्य प्रायोजन र हरिपुर–२ स्थित नवसंघर्षशील युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः १ लाख ५० हजार र ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस १ गते हुनेछ ।











