हेटौंडा : शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेश समितिको साधारणसभा तथा अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । अधिवेशनले समितिका अध्यक्ष प्रकाश खतिवडाको नेतृत्वमा नौ सदस्यीय नयाँ बागमती प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा धादिङका दिलबहादुर रम्तेल, सचिवमा चितवनका रामचन्द्र आचार्य र कोषाध्यक्षमा अनिता नेपाली चयन हुनुभएको छ । यस्तै, मकवानपुरका कुमारी वाइबा, बुद्धवीर लामा, दोलखाका लक्ष्मी थापा, काठमाडौंका भक्त भ्लोन र सिन्धुपाल्चोकका शोभा आचार्य सदस्य चयन हुनुभएको छ ।
साधारणसभामा सचिव रामचन्द्र आचार्यले वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनिक शिक्षा सुदृढीकरण, अनिवार्य तथा निःशुल्क शिक्षाको अधिकार सुनिश्चितताका लागि गरिएको अभियानबारे जानकारी दिनुभयो । सीमित स्रोत–साधनका बाबजुद धेरै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको उहाँले बताउनुभयो । कोषाध्यक्ष अनिता नेपालीले आय–व्यय विवरण प्रस्तुत गर्दै धेरैजसो कार्यक्रम साझेदार संस्थाले खर्च व्यहोरेको तथा खर्च नलाग्ने गतिविधि बढी भएकाले खर्च मिलानमा अन्तर देखिएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष खतिवडाले सामाजिक विकास मन्त्रालय, स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गर्दै सार्वजनिक शिक्षा सुदृढीकरणमा संस्था सक्रिय रहेको बताउनुभयो । उहाँले सामाजिक समावेशीकरण, अपांगतामैत्री शिक्षा, सबैका लागि शिक्षामा पहुँच विस्तार तथा टिकाउने–बिकाउने शिक्षामा जोड दिने आगामी कार्ययोजना पनि प्रस्तुत गर्नुभएको छ ।











