हेटौंडाः ११ औं राष्ट्रिय स्क्र्याबल च्याम्पियसिपमा लिटिल फ्लावर स्कुल चितवनका अर्नब पाण्डे प्रथम भएका छन् । प्रतियोगितामा सहभागी ८९ जनालाई पछाडि पारेर प्रथम भएसँगै अर्नबले १५ हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसअघि भएका चारवटा प्रतियोगितामा जस्तै पाँचौ पटक पनि पाण्डे नै प्रथम भएको आयोजक नेपाल स्क्र्याबल क्लबले जनाएको छ । हेटौंडा–२ स्थित बालजागृति इङ्लिस माध्यमिक विद्यालयमा सम्पन्न भएको प्रतियोगितामा नवलपरासीको सुनवल युनाइटेड स्कुलकी बिनिता बर्मा द्वितीय र नवलपरासीकै विश्वज्योति सेकेण्डरी स्कूलका कृष्ण बास्तोला तृतीय भएका छन् । बर्मा र बास्तोलाले क्रमशः १३ हजार र ११ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा बाराको सिमरा शुभारम्भ स्कूलका पर्वत केसीले चौथो हुँदै ९ हजार, सिमरा पब्लिक स्कूल बाराका प्रिन्स यादवले पाँचौ हुँदै ७ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा शीर्ष २५ जनालाई नगदसहित पुरस्कृत गरिएको छ । कार्यक्रममा छैंटौं स्थान हासिल गर्नेलाई ५ हजार, सातौंदेखि दशौं स्थान प्राप्त गर्नेलाई जनही ३ हजार रुपैयाँ र एघारौंदेखि पच्चीसौं स्थान प्राप्त गर्नेलाई जनही २ हजार रुपैैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा सहभागी ९० जनामध्ये मकवानपुरबाट ९ जना सहभागी भएको आयोजकले जनाएको छ । बंशगोपाल मावि, जनप्रिय मावि, सुनगाभा अंग्रेजी मावि, युनाइटेड अंग्रेजी माविबाट १–१ जना र बालजागृति माविबाट ५ जना प्रतियोगितामा सहभागी भएको आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट २५ जनाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने भएकाले विजयी सहित २५ जनालाई पुरस्कार रकमको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
बालजागृति मावि सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल स्क्र्याबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुली, बालजागृति मावि व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, क्लबका कोषाध्यक्ष पूर्णबहादुर राणा, क्लबका मकवानपुर जिल्ला संयोजक विवश थापालगायतको उपस्थिति थियो ।
कोठेपदजस्तै शब्दखेलको रुपमा परिचित रहेको यो खेल अमेरिकी इन्जिनियर अल्फ्रेड मोसेर बट्सले सन १९३८ मा लेक्सिको नामले विकास गरेका थिए । हाल स्क्र्याबल भनेर चिनिने यो खेल विश्वका १ सय २० देशमा २० भन्दा बढी भाषाहरुमा खेलिने गरिएको छ । नेपालमा स्क्र्याबल खेल प्रतियोगिताको रुपमा सन् २०१२ फेबु्रअरी २५ र २६ मा सम्पन्न भएको थियो । देशका विभिन्न ३० जिल्लामा स्क्र्याबल क्लबको जिल्ला संयोजकसहित सक्रिय रहेको छ ।
