Home मुख्य समाचार नेल्टा बागमतीको दुई दिने सम्मेलन सम्पन्न

नेल्टा बागमतीको दुई दिने सम्मेलन सम्पन्न

हेटौंडाः नेपाल अंग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) बागमती प्रदेशको सम्मेलन सम्पन्न भएको छ । हेटौंडाको नवोदय शिशु सदनमा शुक्रबार सुरु भएको सम्मेलन शनिबार सम्पन्न भएको हो ।

सम्मेलनको उद्घाटन बागमती प्रदेशका प्रदेश प्रमुख दीपक देवकोटाले गर्नुभएको थियो । उद्घाटन समारोहमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, नेल्टाका केन्द्रीय अध्यक्ष प्राध्यापक डा. लक्ष्मण ज्ञवालीलगायतको आतिथ्य रहेको थियो ।

सम्मेलनमा दुई दिनसम्म अंग्रेजी भाषा शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धिको लागि आवश्यक पक्षहरुबारे बहससमेत गरिएको थियो । सम्मेलनमा तीन जना विज्ञ मुख्यवक्ता, ६ जना विज्ञ पूर्णबक्ता र २० जना विज्ञहरुले विभिन्न विषयमा प्रस्तुतिकरण दिनुभएको थियो ।

अंग्रेजी भाषा शिक्षणका विषयमा प्यानल छलफल कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । उक्त छलफलमा सामुदायिक विद्यालयहरुमा सञ्चालित अंग्रेजी माध्यमको पढाइको आवश्यकता, प्रभावकारिता र भावी चुनौतीहरूको बारेमा छलफल गरिएको छ । छलफलमा प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरूको प्रतिनिधित्व रहेको थियो । कार्यक्रममा विभिन्न जिल्लाका करिब तीन सय अंग्रेजी भाषाका शिक्षकहरू उपस्थित रहेका थिए ।

Exit mobile version