प्रतियोगिताबारे जानकारी दिनुहुँदै बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका प्रिन्सीपल विनोद सुवेदी ।

हेटौँडा: ११औं राष्ट्रिय स्क्र्याबल च्याम्पियनसीप आज शुक्रबारदेखि सुरु हुने भएको छ । हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलको आयोजनामा
प्रतियोगिता हुन लागेको हो । बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको थियो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको शुक्रबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले उद्घाटन गर्नुहुने बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभयो ।

विशेषगरी विद्यालय तहका विद्यार्थीको शब्दज्ञान अभिवृद्धि गर्ने खेलको रुपमा स्क्र्याबल खेललाई प्रवद्र्धन गरिँदै आएको छ । नेपाल स्क्र्याबल क्लबसँगको सहकार्यमा बालजागृतिले आयोजना गर्न लागेको प्रतियोगितामा ३० जिल्लाका एक सय भन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् । विद्यालय तहका कक्षा–६ देखि कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुने प्रिन्सीपल सुवेदीले बताउनुभयो । ३० जिल्लाका सामुदायिक र संस्थागत गरी एक सय भन्दा बढी विद्यार्थी प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगिता आयोजनाका लागि १३ लाख रुपैयाँ खर्च हुने अपेक्षा आयोजकको रहेको छ । प्रतियोगितामा मकवानपुर जिल्लाबाट भुटनदेवी मावि, जनप्रिय मावि र बंशगोपाल माविका एक–एक जना सहभागी हुने आयोजकले जनाएको छ ।

राष्ट्रियस्तरको प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने प्रतियोगीले क्रमशः १३ हजार र ११ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । चौथोलाई ९ हजार, पाँचौंलाई ७ हजार, छैठौंलाई ५ हजार र सातौंदेखि दशौं स्थान प्राप्त गर्नेलाई ३ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, एघारौंदेखि पच्चिसौं स्थान प्राप्त गर्नेलाई २ हजार रुपैंयाँ र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट २५ जनाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने भएकाले २५ जनालाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । हाल ५० जिल्लामा स्क्र्याबल खेलबारे जानकारहरु रहेको भए पनि ३० वटा जिल्लामा जिल्ला संयोजकहरुसहित सक्रिय रहेको नेपाल स्क्र्याबल क्लबका केन्द्रीय अध्यक्ष केशवप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

कोठेपदजस्तै शब्दखेलको रुपमा परिचित रहेको र अमेरिकी इन्जिनियर अल्फ्रेड मोसेर बट्सले सन् १९३८ मा लेक्सिको नामले विकास गरेको यो खेल हाल स्क्र्याबल भनेर चिनिन्छ । हाल विश्वका एक सय २० देशमा २० भन्दा बढी भाषाहरुमा खेलिने यो खेल नेपालमा भने प्रतियोगिताको रुपमा सन् २०१२ फेबु्रअरी २५ र २६ मा ललितपुरमा सम्पन्न गरेको थियो ।

पत्रकार सम्मेलनमा बालजागृतिको सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्क्र्याबल क्लब नेपालका अध्यक्ष पराजुलीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, क्लबका कोषाध्यक्ष पूर्णबहादुर राणा, क्लबका मकवानपुर जिल्ला संयोजक विवशजंग थापालगायत विद्यालयका पदाधिकारी एवम् स्क्र्याबल क्लबका केन्द्रीय पदाधिकारीहरुको उपस्थिति थियो ।