हेटौँडा : मकवानपुरगढी गाउँपालिका–१ बागधारामा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । आइतबार बिहान ११ बजेर ५० मिनेटको समयमा कान्तिलोकपथ सडकखण्डमा फापरबारी–बस्तिपुरबाट काठमाडौं जाँदै गरेको बा ५ ख २९४ नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल ल्याइएको थियो । दुर्घटनामा घाइते भएका २ जनालाई सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको छ भने बाँकी ५ जनाको उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ । बस चालक मकवानपुरको बकैया गाउँपालिका–१०, अम्बासका ३१ वर्षीय गोकुल तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
