हेटौंडाः बारा जिल्लाको प्रसौनी गाउँपालिका–६, भलुहीस्थित किरन बेभरेज नेपाल प्रालिका मेनेजर रामकिशोर सिंहको हत्याको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । सिंहको हत्याको आरोपमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२२, मनियारी बस्ने २१ वर्षीय राजनकुमार राम र ३२ वर्षीय प्रमोद साह तुरहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको हो ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा भारततर्फ भाग्दै गरेका रामलाई पर्साको छिपहरमाई गाउँपालिका–५ स्थित भिस्वा नाकाबाट र तुरहालाई लुकिछिपि बसेको अवस्थामा वीरगञ्ज–२२ बाट पक्राऊ गरिएको हो । प्रारम्भिक अनुसन्धानबाट पुरानो रिसईवीका कारण हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यान कसुर मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
गत बिहीबार राति ८ बजेर २५ मिनेटको समयमा वेभरेजका मेनेजर सिंहको हत्या भएको थियो । सर्लाही जिल्लाको धनकौला गाउँपालिका–२ घर भई वेभरेजमा मेनेजरको रपमा काम गर्दै आएका सिंहको शव शुक्रबार बिहान उद्योगभन्दा २५ मिटर उत्तरतर्फ खाल्डोमा फेला परेको थियो ।
घटनाका मुख्य आरोपी राजनकुमार राम सोही उद्योगमा पहिला चालकका रुपमा कार्यरत थिए । रामले आफ्नो निजी स्वार्थका लागि बजारमा कम्पनीको मूल्यभन्दा बढी मूल्यमा पानी बेच्ने गरेको थाहा पाएपछि मेनेजर सिंहले उनलाई गत बुधबार कामबाट हटाएका थिए । सोही रिसमा रामले जाँडरक्सी खाई साथीसँग मिलेर हत्या गरेको प्रहरी जानकारी दिएको छ । छुरा र ईटाको प्रयोगगरि विभत्स किसिमले मेनेजर सिंहको हत्या भएको थियो । हत्या गर्न प्रयोग गरिएको छुरा र रगत लागेको ईटा पनि प्रहरीले बरामद गरेको छ ।











