हेटौँडा : व्यवसाय नवीकरणमा ढिलाई गरे व्यावसायिक संस्था नै खारेज हुने व्यवस्था गरेको विषयमा विरोध जनाउँदै औषधी व्यवसायी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार हेटौँडाका औषधी व्यवसायीले बिहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा पसल बन्द गरेका छन् ।
हेटौँडा–१, राप्तीरोडस्थित औषधी व्यवसायी संघ मकवानपुरको कार्यालय परिसरमा भेला भएर व्यवसायीले र्याली समेत निकालेका थिए । व्यवसायीको विरोध र्याली राप्तीरोड, भिन्तुनापथ हुँदै पुनः सचिवालयमै आएर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्नुहुँदै औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले व्यवसायीमाथि अन्यायपूर्ण व्यवस्था खारेज गर्न माग गर्नुभयो । नवीकरण गर्न ढिलाई हुँदा शतप्रतिशत जरिवाना र ३१ दिनपछि व्यवसायीको दर्ता नै खारेज हुने व्यवस्था लागू नगर्न, नगराउन उहाँले सरकारको ध्यानाकर्षण समेत गर्नुभएको छ ।

आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार औषधी व्यवस्था विभागमा पनि व्यवसायीले धर्ना दिएका छन् । औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठसहित मधेश प्रदेशका विभिन्न जिल्लाका अध्यक्षहरुले पर्सा जिल्लाको बीरगन्ज महानगरपालिकास्थित औषधी व्यवस्था विभागको कार्यालयमा आइतबार धर्ना दिएका छन् । आन्दोलनको कार्यक्रम सोमबार पनि जारी रहने र सोमबार बिहान ११ बजेदेखि २ घण्टा औषधी पसल बन्द रहने बताइएको छ ।
संघीय सरकारले औषधी ऐन–२०३५ मा संशोधन गरेर औषधी पसल/फर्म दर्ता नवीकरण गर्ने म्याद सकिएको भोलिपल्टदेखि शतप्रतिशत जरिवाना तथा नवीकरण नगरिएको ३१औं दिनपछि औषधी पसल÷फर्म स्वतः खारेज हुने व्यवस्था गरेपछि व्यवसायी आन्दोलित बनेका हुन् । औषधी व्यवसायी संघले मंसिर २ गते औषधी व्यवस्था विभागका महानिर्देशकमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए । औषधी व्यवसायी संघसँगै नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ र नेपाल पशुपंक्षी औषधी व्यवसायी संघले पनि आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।












