हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर एकैदिन २ जनाको मृत्यु भएको छ । प्रदेशको नुवाकोट र चितवनमा मंगलबार २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१०, मालपोतचोक नजिक भारतीय ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । एक जना घाइते भएका छन् । मंगलबार बिहान ७ बजेको समयमा काठमाडौँबाट बीरगन्जतर्फ जाँदै गरेको एन एल ०१ एल २४५३ नम्बरको भारतीय ग्यास बुलेटले बा प्र ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
ठक्करबाट मोटरसाइकल चालक लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका–३ का ५२ वर्षीय राजकुमार श्रेष्ठ सामान्य घाइते भएका थिए भने पछाडि सवार उनकी १८ वर्षीया छोरी राईना श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । दुवै जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारका क्रममा राईनाको मंगलबार बिहान ८ बजेर ४७ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ग्यास बुलेट चालक भारतको बिहार राज्यको सुगौलीका ३१ वर्षीय जगन यादवलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै नुवाकोटको गल्छी–त्रिशुली सडकखण्डमा बिदुर नगरपालिका–५, पिपलटार क्षेत्रमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मंगलबार साँझ ५ बजेर ३० मिनेटको समयमा गल्छीबाट बट्टारतर्फ जाँदै गरेको ग १८ प ६३७० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका ८० वर्षीय लिलानाथ कोइरालालाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट कोइरालाको टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका थिए भने मोटरसाइकल चालक लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–५ का २६ वर्षीय जीवन तामाङका दुवै हात–खुट्टामा चोट लागेको थियो । मोटरसाइकल पछाडि सवार ३१ वर्षीय विष्णु थापाको बायाँ हात र कम्मरमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । तीनै घाइतेलाई उपचारका लागि त्रिशुली अस्पताल लगिएको थियो । उपचारका क्रममा पैदलयात्री लिलानाथको मंगलबार साँझ ६ बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक र पछाडि सवार दुवै डिस्चार्ज भई उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
