हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको रामेछाप, चितवन र धादिङ जिल्लामा आइतबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका–२, मुलखर्कमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा २९ वर्षीय सुब्बा पाण्डे रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो ४ बजेको समयमा सुब्बा घरबाट बजार जान्छु भनि हिडेर फर्कि नआए पश्चात खोजतालास गर्दै जाँदा आइतबार बिहान १० बजेर ३० मिनेटको समयमा रेलिङमोड भिरबाट २० मिटर तल भिरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिङ बजार बेवारिस अवस्थामा फेला परेका पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । आइतबार बिहान १० बजेर ५० मिनेटको समयमा नाम थर नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष लडि रहेको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि सरकारी अस्पताल भरतरपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको भनि दिउँसो १२ बजेर २० मिनेटको समयमा डाक्टरले घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
धादिङको गजुरी गाउँपालिका–५, धारापानीमा बाटोबाट लडेर एका जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ९० वर्षीय रुद्र प्रसाद रेग्मी रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान ७ बजेर ४५ मिनेटको समयमा गाँउबाट घर जाने क्रममा घरबाट दुई सय मिटर टाढा रहेको गोरेटो बाटोबाट १५ मिटर तल खसेर घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
