Home मुख्य समाचार भुटनदेवी माविको प्रअमा घिमिरे

भुटनदेवी माविको प्रअमा घिमिरे

हेटौंडाः हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्रधानाध्यापकमा सूर्यप्रसाद घिमिरे नियुक्त हुनुभएको छ । विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालको कात्तिक १४ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाश भएपछि घिमिरेले निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

शिक्षा नियमावली २०५९ को परिच्छेद–१७, नियम–९३ को उपनियम ५ सँग सम्बन्धित अनुसूची १३ बमोजिम घिमिरे प्रधानाध्यापक नियुक्त हुनुभएको छ । आइतबार हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाबाट नियुक्तिपत्र पाउनु भएको हो । घिमिरेले अङ्ग्रेजी विषय पढाउँदै आउनु भएको छ ।

कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा साधारण र प्राविधिक धार गरी २ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । भुटनदेवी माध्यमिक विद्यालयमा ७२ जना शिक्षक, कर्मचारी कार्यरत छन् । विद्यालयमा १९ जना स्थायी, १२ जना करार सेवाका शिक्षक छन् भने निजी स्रोतका शिक्षक ३१ जना छन् । यस्तै, १० जना कर्मचारीमध्ये एक जना स्थायी छन् भने अन्य अस्थायी र करारका छन् ।

Exit mobile version