हेटौँडा : सिविन नेपाल मकवानपुरले सिविन नेपालको ३८औं वार्षिकोउत्सव एवम् अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा पारेर मनहरी गाउँपालिकामा १० वटा माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । भोजसिद्ध माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामामनहरी–१ स्थित बालजीवन ज्योति माविको समूह प्रथम, मनहरी–८ स्थित महेन्द्र किरण माविको समूह दोस्रो, मनहरी–३ स्थित प्रजा माविको समूह तेस्रो र मनहरी–४ स्थित पशुपतिनाथ माविको समूह सान्त्वना भएको छ ।
कार्यक्रम सिविन नेपालको आयोजना तथा मनहरी गाउँपालिकाको समन्वयमा भएको सिविन नेपालका प्रबन्धक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगरको पनि आतिथ्य रहेको थियो । प्रतियोगितामा सहभागी ३० जना विद्यार्थीलाई प्रमाणपत्र र प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका निमित्त प्रमुख हरिचन्द्र सापकोटाले १२ वटा विद्यालयमा सिविन नेपालको सहकार्यमा बालसंरक्षण नीति निर्माण भई कार्यान्वयन भइरहेको र सबै मिली यसलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताउनु भयो । १२ वटै विद्यालयबाट आआफ्नो विद्यालयले हालसम्म बालसंरक्षणको सवालमा गरिरहेका कार्य बारेमा प्रस्तुति गरिएको थियो । आगामी दिनमा सिविन नेपालको सहकार्यमा सबै विद्यालयका व्यवस्थापन समिति, विद्यार्थी, अभिभावक तथा शिक्षकहरुसँग छलफल गरिने कार्यक्रम रहेको बालहेल्पलाइनले जनाएको छ ।
