हेटौँडा : हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविको चमेनागृह तयार भएको छ । निर्माण सुरु गरेको ३ वर्षमा निर्माण सम्पन्न भएपछि शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले चमेनागृहको उद्घाटन गर्नुभयो ।
चमेनागृह उद्घाटन गर्नुहुँदै नगर प्रमुख लामाले यसअघि व्यवस्थित खाजा खाने चमेनागृहको समस्या भोगिरहेकोमा सञ्चालनमा आएको चमेनागृहले विद्यार्थीलाई व्यवस्थित तरिकाले खाजा खान सहज बनाउने अपेक्षा व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खानले चमेनागृहको आवश्यकताबारे प्रष्ट पार्नुहुँदै चमेनागृहको अभावमा विद्यालयले झेल्दै आएका समस्याहरुबारे चर्चा गर्नुभएको थियो । हेटौँडा उपमहानगरपालिका कार्यालयको २० लाख रुपैयाँ, ४ नम्बर वडा कार्यालयको १० लाख रुपैयाँ र विद्यालयको ८ लाख रुपैयाँसहित करिब ३८ लाख रुपैयाँको लागतमा चमेनागृह निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईंले जानकारी दिनुभयो ।
तीन वर्षसम्म स्थानीय तह र वडाको आर्थिक सहयोग प्राप्त गरेपछि मात्र चमेनागृहको निर्माण पूरा भएको विद्यालयले जनाएको छ । नवनिर्मित चमेनागृहमा एकपटकमा करिब ३ सय विद्यार्थीले खाजा खान सक्ने पनि विद्यालयले जनाएको छ । हाल विद्यालयमा ३ हजार विद्यार्थी अध्ययनरत रहेकोमा चमेना गृह अझै पर्याप्त नभएपनि पहिलेको भएपनि अव्यवस्थित र असहज स्थितिबाट भने मुक्ति पाइने विद्यालयले अपेक्षा छ ।
चमेनागृह उद्घाटन कार्यक्रममा अध्यक्ष नवीन सिग्देल, विद्यालयका पूर्व प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष देवप्रसाद श्रेष्ठ, विद्यालयका पूर्व प्रधानाध्यापक पुरन बहादुर जोशी, हेटौँडा क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको पनि आतिथ्य रहेको थियो ।
