कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री घिसिङ ।

हेटौँडा : नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले विपद्को समयदेखि विकास निर्माणसम्म भारत एक विश्वसनीय साझेदार रहेको बताउनुभएको छ । उहाँले नेपालको पूर्वाधार विकास, कनेक्टिभिटी र विपद् प्रतिरोध क्षमतामा भारतले निरन्तर सहयोग पु¥याएको बताउनुभयो ।

बिहीबार हेटौँडामा आयोजित आपत्कालिन प्रयोगका लागि भारतले दिएको बेलिब्रिज हस्तान्तरण समारोहमा बोल्नुहुँदै मन्त्री घिसिङले नेपालका भारतको सहयोगमा निर्मित हुलाकी राजमार्गले तराई क्षेत्रमा यातायातको पहुँच विस्तार गरी लाखौं नागरिकलाई सेवा र बजारसँग जोडेको बताउनुभयो । उहाँले पूर्व–पश्चिम राजमार्ग र ऐतिहासिक त्रिभुवन राजपथ निर्माणमा भारतको योगदानले नेपालको राष्ट्रिय यातायात र व्यापारको मेरुदण्डलाई सुदृढ बनाएको उल्लेख गर्नुभयो ।

भारतीय एक्जिम बैंकमार्फत विस्तारित उदार ऋण सुविधाहरु अन्तर्गत सञ्चालित सडक तथा पुल निर्माण परियोजनाहरुले क्षेत्रीय कनेक्टिभिटी बढाउन, दुर्गम क्षेत्रमा पहुँच सुधार गर्न र राष्ट्रिय यातायात सञ्जाललाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको मन्त्री घिसिङको भनाइ छ । ‘भारतले उपलब्ध गराएका परियोजनाहरुले आर्थिक वृद्धिलाई गति मात्र दिएका छैनन् । हाम्रा राष्ट्रहरुबीच जनस्तरको सम्बन्धलाई पनि गहिरो बनाएको छ’, मन्त्री घिसिङले भन्नुभयो, ‘सीमापार रेल सञ्जाल, विशेषगरी जनकपुर–कुर्था–बिजलपुरा–बर्दिबास लाइन र जोगबनी–विराटनगर कोरिडोरको विस्तारलाई क्षेत्रीय एकीकरणको कोसेढुंगा हो ।’

विनाशकारी भूकम्पपछिको संकटको घडीमा भारतले गरेको द्रुत र उदार सहयोगको स्मरण गर्नुहुँदै मन्त्री घिसिङले सडक, पुल र सार्वजनिक सुविधाहरुको पुनर्निर्माणमा भारतको सहयोग नेपालको पुनः प्राप्तिका लागि महत्वपूर्ण रहेको बताउनुभयो । यातायात पूर्वाधारबाहेक शिक्षा, स्वास्थ्य, ऊर्जा र क्षमता निर्माण जस्ता सामाजिक क्षेत्रमा भारतको सहयोगले सकारात्मक प्रभाव पारेको उहाँले बताउनुभयो । मन्त्री घिसिङले भविष्यमा हरित पूर्वाधार, जलवायु–उत्थानशील यातायात प्रणाली र डिजिटल कनेक्टिभिटीमा सहकार्य गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यस प्रयासले लामो समयदेखिको भारत–नेपाल विकास सहयोगलाई प्रतिबिम्बित गरेको बताउनुभयो । ‘नेपालले अहिले सामना गरिरहेको कठिन अवधिलाई पार गर्न भारत आवश्यक पर्ने कुनै पनि तरिका वा रुपमा सहयोग गर्न प्रतिबद्ध छ’, राजदूत श्रीवास्तवले भन्नुभयो, ‘बेलिब्रिज हस्तान्तरणलाई भारत सरकारको आवश्यकताको समयमा र जनताको विकास र समृद्धिका लागि नेपालको साथमा उभिने प्रतिबद्धताको प्रतिबिम्बको रुपमा रहने छ ।’