बेलिब्रिजमा प्रयोग हुने फलामे पत्ति हस्तान्तरण गरेर सांकेतिकरुपमा बेलिब्रिज हस्तान्तरण गरिँदै ।

हेटौँडा : विपद् प्रभावित स्थानमा जडान गर्न भारत सरकारले नेपालका लागि १० वटा बेलिब्रिज सहयोग उपलब्ध गराएको छ । बिहीबार हेटौँडामा एक समारोहमा भारत सरकारले अनुदानमा उपलब्ध गराउने १० वटा बेलिब्रिजमध्ये पहिलो ब्रिज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्थितिमा हेटौँडामा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त ब्रिज हस्तान्तरण गर्नुभएको हो । गत महिनाको बाढी र पहिरोले क्षति पुर्‍याएको भौतिक पूर्वाधार, विशेषगरी पूर्वी नेपालको कोशी प्रदेश र अन्य क्षेत्रमा अवरुद्ध सडक सञ्जाल पुनर्निर्माणका लागि उक्त सहयोग प्रदान गरिएको सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल सरकारको अनुरोधमा भारत सरकारले गत वर्षजस्तै यस वर्ष पनि १० वटा बेलिब्रिज उपलब्ध गराएको हो । महानिर्देशक जैसीले यस वर्ष इलाम लगायतका क्षेत्रमा भारी वर्षाले पु¥याएको क्षतिपछि भारतले तत्काल प्राविधिक सहयोग र थप बेलिब्रिज उपलब्ध गराइएको उहाँले बताउनुभयो । ‘गत वर्षको भीषण बाढी र पहिरोपछि भारतले उपलब्ध गराएका १० वटा बेलिब्रिजहरु जडान गरेर सडक सञ्जाल संचालन गरिएको थियो । अहिले प्राप्त बेलिब्रिज पनि हेवा खोला, बागमती नदी र लार्छा जस्ता महत्वपूर्ण स्थानमा जडान गरिनेछ । जसले अवरुद्ध यातायात सुचारु गर्न ठूलो मद्दत गर्नेछ ।’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार हस्तान्तरण गरिएका पुलहरु ७० मिटरभन्दा लामा, ४.२५ मिटर चौडा (एकल–लेन) र ३८ मेट्रिक टनसम्मको भार वहन गर्न सक्ने क्षमताका रहेका छन् । सो पुलहरु चाँडै विभिन्न स्थानमा जडान गरी सडक सञ्जाल पुनस्र्थापना गरिने उहाँले बताउनुभयो । लामा स्पानका पुलहरु जडान गर्न विशेष प्राविधिक विशेषज्ञता चाहिने भएकाले भारतले पुल निर्माण गर्ने कम्पनी ‘गार्डन रिच’ का इन्जिनियरहरुको टोली पठाउने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले बताउनुभयो । उक्त टोलीले नेपाली इन्जिनियरहरूलाई क्षमता विकास तथा तालिम प्रदान गरी पुल जडानमा सहयोग गर्ने उहाँले बताउनुभएको छ ।