कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी निर्वाचनका समयमा भ्रम फैलाउने प्रवृत्तिबाट सचेत रहन नागरिकहरूलाई आग्रह गर्नुभएको छ । उहाँले चुनावको समयमा मीठा भाषण गर्ने तर व्यवहारमै काम नगर्ने व्यक्तिहरूलाई नागरिकले चिन्नुपर्ने र भरपर्दा, काम गर्ने प्रतिनिधिलाई रोज्नुपर्नेमा जोड दिनुभयो ।

मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–१ स्थित तल्लो मकरी राधाकृष्ण मन्दिर रोड स्ल्याब ढलान कार्यको शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले भ्रम छर्नेहरूलाई पछि छाडेर विकासमा प्रतिबद्ध उम्मेदवारलाई साथ दिनु नागरिकको कर्तव्य भएको बताउनुभयो । आगामी फागुनमा अन्तरिम सरकारमार्फत हुने भनिएको निर्वाचनमा विभिन्न प्रकारका भ्रम र प्रलोभन फैलाउनेहरू सक्रिय हुने सम्भावना रहेको उल्लेख गर्दै उहाँले जनताले यस्ता व्यक्तिहरूलाई छुट्याउनुपर्नेमा बल दिनुभयो ।

“कुरा धेरै जान्ने तर काम नगर्नेहरूले फेसबुक–युट्युबमा चटारोका भाषण गर्छन्, तर व्यवहारमा केही गर्दैनन्,” उहाँले भन्नुभयो, “जनताले यस्ता व्यक्तिहरूलाई चिन्नुपर्छ र कुरा पनि गर्ने, काम पनि गर्ने प्रतिनिधि छान्नुपर्छ।”

मुख्यमन्त्री बानियाँले भ्रम सिर्जना गर्ने व्यक्ति तथा राजनीतिक दललाई गाउँ–गाउँबाटै अस्वीकार गर्नुपर्ने र तिनका काम, प्रतिबद्धता तथा भविष्यका योजनाबारे प्रश्न गर्नुपर्ने सुझाव दिनुभयो । प्रदेश सरकार न्यायमुखी, गाउँमुखी र विकासमुखी कार्यसञ्चालनमा केन्द्रित रहेको उल्लेख गर्दै उहाँले आगामी बजेट पनि सोही दृष्टिकोणअनुसार लक्षित हुने जानकारी दिनुभयो । साथै प्रदेश सरकारले विकास निर्माणसँगै नागरिकलाई सीप तथा तालिम प्रदान गरी आयआर्जनमा जोड दिने काम गरिरहेको पनि बताउनुभयो ।

कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गाउँपालिकाले स्थानीयवासीलाई आयआर्जन तथा सीप प्रवद्र्धनमार्फत स्वरोजगार बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । पशुपालनमा प्रोत्साहन गर्न दूध बिक्रीको भुक्तानी समयमै उपलब्ध गराउने उद्देश्यले दुग्ध डेरीसँग सम्झौता गरिएको र यसका कारण गाई–भैँसी पाल्ने किसानको संख्या वृद्धि भएको बताउनुभयो । साथै आर्थिक अभावमा परेका विपन्न नागरिकलाई काजकिरियाका लागि सहयोग उपलब्ध गराउनुले स्थानीय सरकारले नागरिकमैत्री अनुभव प्रदान गरिरहेको टिप्पणी पनि गर्नुभयो ।

तल्लो मकरी क्षेत्रको सो सडक निर्माण कार्य गुणी निर्माण सेवाले ठेक्का पाएको हो । बागमती प्रदेश सरकारको रु. ७४ लाख ९६ हजार बजेटमा ६ मिटर चौडाइ र ७३२ मिटर लम्बाइको सडक निर्माण गरिने जनाइएको छ ।