हेटौँडाः हेटौँडा–२ स्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौँडा–४ स्थित रोयल प्यालेसमा सहकारीका अध्यक्ष मिठाराम दहालको सभाध्यक्षतामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन अनुुमोदन गरिएको थियो ।
१ हजार १ सय ६८ महिला, १ हजार ४ सय ९६ पुरुष र ६ जना संस्थागत सदस्य गरी २ हजार ६ सय ७० सेयर सदस्य रहेको नमूना प्रगतिको शेयर पुँजी २ करोड ९१ लाख ९८ हजार रुपैयाँ रहेको छ । संस्थाको संस्थागत पुँजी ३ करोड ६४ लाख ४२ हजार रुपैयाँ, जगेडा कोषमा ३ करोड ५० लाख ६ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा सहकारीले २९ करोड ५२ लाख ६४ हजार रुपैयाँ ऋण लगानी गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा सबभन्दा धेरै व्यापार व्यवसाय कर्जा शिर्षकमा १ सय ७४ जना सदस्यलाई १२ करोड ५७ लाख ८३ हजार रुपैयाँ प्रवाह गरेको छ ।
साधारणसभाको अवसरमा सहकारीले ज्येष्ठ नागरिक सम्मानतर्फ हेटौंडा–४ की यशोदा देवी चौरेल र हेटौँडा–११ का डोरमणि पौडेल, उत्कृष्ट बचत कर्तातर्फ हेटौंडा–४ की गीता मुक्तान र हेटौँडा–२ का सुदर्शन अधिकारी, उत्कृष्ट ऋणीतर्फ हेटौँडा–५ की कविता खड्का र विनोद प्रसाद दाहाल रहेका छन् । यसैगरी बाल बचतकर्तातर्फ हेटौंडा–१८ की अंशु काफ्ले र हेटौंडा–८ का अनुगम रिमाल र उत्कृष्ट कर्मचारी लेखापाल अनुराधा हुमागाईलाई सम्मान गरिएको छ । सहकारीले गतवर्षको एसईई र कक्षा १२ को परीक्षमा उत्कृष्ट अंक प्राप्त गरेका शेयर सदस्याका छोराछोरीहरुलाई सम्मान गर्ने जनाएको छ । उनीहरुलाई २०८३ साल बैशाख ३ गते मातातीर्थ औँसीको अवसरमा सम्मान गरिने संस्थाले जनाएको छ ।
संस्थाले चालु आर्थिक वर्ष २०८२/०८३ मा बचत तथा ऋणतर्फको व्याजदर परिमार्जन गरेको छ । बचततर्फ मासिक अनिवार्य बचतमा ७ दशमलव ५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, १ वर्षे आवधिक बचतमा ८ प्रतिशतबाट घटाएर ६ दशमलव ७५ प्रतिशत, ज्येष्ठ सदस्य बचतमा ८ प्रतिशतबाट घटाएर ७ प्रतिशत र बाल बचतमा ८ प्रतिशतबाट घटाएर ६ दशमलव ५ प्रतिशत व्याजदर निर्धारण गरिएको छ । सहकारीले चालु आर्थिक वर्षमा ३ सय नयाँ सदस्य थप्ने र ३ करोड ८० लाख रुपैयाँ शेयर पुँजी पु¥याउने लक्ष्य राखेको छ । सहकारीले ३८ करोड ६८ लाख रुपैयाँ बचत संकलन गर्ने, कूल सम्पति ५० करोड ८९ लाख पु¥याउने लक्ष्य राखेको छ । साधारणसभामा संस्थाका सदस्य शिवराज पराजुलीले ‘सहकारी के हो ? यसको विशेषता र असल बचतकर्ता तथा ऋणीहरुको भूमिका’ बारे प्रस्तुति राख्नुभएको थियो ।











