मोतिविन्दुको शल्यक्रिया गरिँदै । फाइल तस्वीर ।

हेटौंडा : हेटौंडा सामुदायिक आँखा अस्पतालले पर्सा जिल्लाको पर्टेवा सुगौली गाउँपालिकाको निचुटामा ४ सय जनाभन्दा बढीको आँखाको मोतिबिन्दु शल्यक्रिया गरेको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालको समन्वय एवम् कियोर ब्लाइन्डनेश प्रोजेक्टको सहयोगमा गत शनिबारदेखि सोमबासम्म ३ जना चिकित्सकसहितको टोलीले निचुटामा ४ सय ७ जना मोतिविन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरेको हो ।

तिलगंगा आँखा प्रतिष्ठान, हेटौंडा सामुदायिक आँखा अस्पतालका बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. मोहिनी श्रेष्ठको टोलीले शल्यक्रिया गरेको थियो । टोलीले अघिल्लो शुक्रबार नै पर्साको जिरा भवानीपुर, जगन्नाथपुर, ठोरी, सखुवा पर्सौनी, पर्टेवा सुगौली गाँउपालिका र पोखरिया नगरपालिकामा निःशुल्क आँखा शिविर आयोजाना गरी मोतिविन्दुका बिरामी छनोट गरेको थियो ।

आँखा शिविरहरुमा २ हजार ३ सय जनाको आँखा जाँच भएकोमा ५ सय १४ जना मोतिविन्दुका बिरामीहरु भेटिएको सामुदायिक आँखा अस्पताल हेटौंडाका प्रशासन प्रमुख सुधीर श्रेष्ठले जानकारी दिनुभयो । हेटौंडा सामुदायिक आँखा अस्पतालले पर्टेवा सुगौली गाउँपालिकाको निचुटामा आँखा केन्द्र सञ्चालन गरी आँखाको चेकजाँच तथा सामान्य शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ ।