हेटौंडाः सहिद स्मारक ‘सी’ डिभिजन क्वालिफायर्स–२०८२ खेल्न पिप्ले युवा क्लबलाई ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा हुन लागेको प्रतियोगितामा सहभागिताका लागि हेटौंडा उपमहानगरपालिका–२ निवासी विक्रम शाही खड्की र हेटौंडा–५ निवासी सकुल श्रेष्ठले सहयोग गर्नुभएको हो ।

क्लबलाई सहयोग आउने क्रम जारी रहेको पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेले जानकारी दिनुभयो । यसअघि काठमाडौंको दियालो फोर्स सेक्युरिटीका सञ्चालक हेटौंडा—५ निवासी प्रकाश पुरी र हेटौंडा–१० निवासी प्रदीप कँडेलले दुई लाख रुपैयाँ सहयोग गर्नुभएको थियो ।

पिप्ले युवा क्लबले मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाएको अध्यक्ष घिमिरेले बताउनुभयो । योभन्दा पहिला मकवानपुर जिल्लाको विजय युथ क्लब ३ पटक र आरआरवाईसी बस्तीपुरले एक पटक ‘सी’ डिभिजन क्वालिफायर्स प्रतियोगितामा सहभागिता जनाएको थियो ।

प्रतियोगिता आगामी मंसिर ४ गतेदेखि सुरु हँुदैछ । प्रतियोगितामा पिप्ले युवा क्लबसहित देशभरका ४९ वटाको टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता र उपविजेता टोलीले ‘सी’ डिभिजनमा प्रवेश गर्नेछ । मुख्य प्रशिक्षक ज्ञानु क्षेत्रीको प्रक्षिणमा खेलाडीहरुले प्रतियोगिताका लागि तिव्ररुपमा तयारी गरिरहेको पिप्ले युवा क्लबका अध्यक्ष घिमिरेको भनाइ छ ।