हेटौँडा : मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली सडकखण्डको हात्तिसुडेमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेर ५० मिनेटको समयमा हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले पैदलयात्री ७१ वर्षीय खडक बहादुर घलानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट अनुहार र टाउकोमा चोट लागेका घलानको उपचारको क्रममा राती ७ बजेर ४५ मिनेटको समयमा हेटौँडास्थित चुरेहिल हस्पिटलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मोटरसाइकल चालक बकैया गाउँपालिका–७ का २५ वर्षीय देवराज विकलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक देवराज र मोटरसाइकलमा सवार २० वर्षीय देवराज धानुकी सामान्य घाइते भएका थिए ।











