हेटौँडा : बागमती प्रदेशको धादिङ र काभ्रेमा सवारी दुर्घटनामा आइतबार २ जनाको मृत्यु भएको छ । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा बोलेरोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । आइतबार साँझ ६ बजेको समयमा काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.प्र. ०१–०२७ च. ०३४० नम्बरको बोलेरोले सडक छेउमा हिँडिरहेका ७५ वर्षीय यज्ञराज अधिकारीलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको थियो । उपचारको क्रममा साँझ ६ बजेर ४८ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–४, भकुण्डेचोकमा ट्रिपरबाट लडेर एक युवकको मृत्यु भएको छ । आइतबार राती ११ बजेर ३० मिनेटको समयमा अरनिको राजमार्गमा खावाबाट बनेपातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रिपरको पछाडि झुण्डिएर आएका नाम थर नखुलेको अन्दजी २६ वर्षका एक पुरुष युवक ट्रिपरबाट लडेर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते युवकलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा राती ११ बजेर ५३ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि टिपर फरार भएको र खोजतलास भई रहेको प्रहरीे जनाएको छ ।