अन्तरक्रियाको क्रममा खिचिएको तस्वीर ।

हेटौंडा : सिर्जन सौरभको वयस्क अभियानअन्तर्गत मकवानपुरका दुईजना वयस्क साहित्यकारहरुको परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ । कार्यक्रममा लामो समय शिक्षण पेसामा संलग्न अग्रज साहित्यकारहरु रामचन्द्र आचार्य ‘फुर्सती’ र ऋषिराम पोखरेलको परिचय तथा अनुभव आदानप्रदानका साथै सिर्जना प्रस्तुतिकरण गरिएको हो ।

शनिबार रोयल प्यालेस हेटौंडामा भएको कार्यक्रममा विसं २०१६ सालदेखि साहित्य लेखनमा संग्लग्न हुँदै आउनुभएका फुर्सती र ५० वर्षदेखि साहित्यमा सक्रिय रहँदै आउनुभएका पोखरेलसँग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा श्यामकृष्ण ज्ञवाली (एसके निधन)ले सहजीकरण गर्नुभएको थियो ।

वयस्क स्रष्टा फुर्सतीको बारेमा उहाँका छोरा भानुभक्त आचार्य र पोखरेलका बारेमा उहाँका छोरा राजाराम पोखरेलले परिचय गराउनुभएको थियो । कार्यक्रममा फुर्सतीले पुराना समयमा प्रयोग हुने शब्दावलीहरु उल्लेख गर्दै ‘उहिलेका कुरा खुइले’ शीर्षकको कविता वाचन गर्नुभयो । उहाँले आफ्नो प्रकाशित कृतिको हास्यव्यङ्ग्य तथा अन्य रचना सुनाउनुभयो । पोखरेलले ‘कथाभित्रको कथा’ शीर्षकमा कथा वाचन गर्नुभयो ।

साहित्यकार रमेशमोहन अधिकारी र रामचन्द्र भण्डारीले फुर्सती र पोखरेललाई एउटा–एउटा प्रश्न सोध्नुभयो । संविधानसभा सदस्य प्रल्हाद लामिछानेले वयस्क स्रष्टाहरुको बारेमा आफ्नो अनुभूति बताउनुभयो ।

स्रस्टा सम्मान, साहित्य समाजको उत्खननका लागि वयस्क साहित्यकारहरुको अनुभव साटासाट गर्नका लागि अभियान कार्यक्रम गरेको बागीभूगोल साप्ताहिकका संस्थापक रामकुमार एलनले जानकारी दिनुभयो । कार्यक्रममा मकवानपुरका साहित्यकार, सञ्चारकर्मीलगायत विभिन्न संस्थामा आबद्ध व्यक्तित्वहरुको सहभागिता थियो ।