सहकारीको साधारणसभाको क्रममा खिचिएको तस्वीर ।

हेटौंडा : पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंडा–४ स्थित रोयल प्यालेसमा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा आर्थिक वर्ष २०८१-०८२ को वार्षिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुति र आर्थिक वर्ष २०८२-०८३ को लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा छलफल भएको थियो । सहकारी संस्थाको कार्यक्षेत्र हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी, बकैया र मनहरी गाउँपालिका रहेको छ ।

संस्थामा हाल ३ सय ७२ महिला, ६ सय ३ पुरुष र ५ अन्य गरी ९ सय ८० जना शेयर सदस्यहरु रहेका छन् । आर्थिक वर्ष २०८१-०८२ निस्कृय शेयर सदस्य १ सय ७३ जना रहेको र ८४ जनाले शेयर फिर्ता लिएका छन् । अत्यधिक ब्याज तथा हर्जना रकम असुल गर्न बाँकी रहेकाले यस वर्ष संस्थाले मुनाफा प्राप्त गर्न नसकेको जनाएको छ ।

संस्थाको शेयर पँुजी हाल १ करोड ३९ लाख २० हजार ६ सय रहेको छ । आर्थिक वर्ष २०८१-०८२ मा संस्थाले ८४ लाख ५५ हजार १ सय ८४ रुपैयाँ आम्दानी गर्दा ८४ लाख ११ हजार ३ सय २६ रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०८१-०८२ को असार मसान्तसम्म संस्थाको पुँजी तथा दायित्व ९ करोड ८० लाख ५५ हजार ४ सय ५२ रुपैयाँ रहेको छ । संस्थाको गत आर्थिक वर्षको खुद नाफा ४१ हजार ७ सय ४० रुपैयाँ रहेको छ । संस्थाका शेयर सदस्यहरुले आर्थिक वर्ष २०८१-०८२ मा ६ करोड ८२ लाख २ हजार ८ सय ११ रुपैयाँ ५३ पैसा बचत गरेका छन् । संस्थाले आर्थिक वर्ष २०८२-०८३ मा वार्षिक वृद्धिदर १० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।

संस्थाले विविध शीर्षकका ऋण तथा बचतमा दिँदै आएको ब्याजदर घटाएको छ । नियमित मासिक बचतमा ७ प्रतिशतबाट घटाएर ६ प्रतिशत, दैनिक बचतमा ३ प्रतिशतबाट घटाएर २ प्रतिशत, विशेष बचतमा ६ प्रतिशतबाट घटाएर ४ प्रतिशत ब्याज दिने निर्णय गरेको छ । यसैगरी, ६ महिने आवधिक बचतमा ८ बाट घटाएर ६ प्रतिशत, १ वर्षेमा ९ बाट घटाएर ७ प्रतिशत र २ वर्षे आवधिक बचतमा ९ दशमलव ५ बाट घटाएर ७ दशमलव ५ प्रतिशत ब्याज दिनेछ । ऋण लगानीमा पनि धितो जमानी ऋणतर्फ १३.५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशत र धन जमानी ऋणतर्फ १६ प्रतिशतबाट घटाएर १४ दशमलव ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । परिमार्जित ब्याजदर गत साउन १ गतेदेखि नै लागू भइसकेको संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाका उत्कृष्ट शेयर सदस्यहरुलाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा असल ऋणीहरु झम्कमाया सिलवाल र ज्ञानेन्द्र मोक्तान, असल बचतकर्ताहरु तुलसी बलामी र श्यामबहादुर महत, असल कर्मचारीहरु रसिला गुरुङ र विश्वराज अर्यालका साथै ज्येष्ठ नागरिक सीतादेवी दुलाल हुनुहुन्छ । यस्तै, २०८१ सालको एसईई परीक्षामा ३ दशमलब ६२ जीपीए ल्याई उत्तीर्ण भएका मनिक तिमल्सिनालाई पनि नगदसहित सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष भोजमान श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, संस्थाका पूर्वअध्यक्ष विष्णुप्रसाद अधिकारीसहित शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।