हेटौँडा : बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८२–८३ मा धान उत्पादन घट्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८१–८२ को तुलनामा यस वर्ष धान खेती गरिएको क्षेत्रफल र उत्पादकत्व दुवैमा कमी आउने देखिएको हो ।
प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा १ लाख १५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा कुल ४ लाख ४८ हजार ५०० मेट्रिक टन धान उत्पादन भएको थियो । उक्त अवधिमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.९ मेट्रिक टन रहेको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले बताउनुभयो । चालु आर्थिक वर्ष २०८२–८३ का लागि गरिएको अनुमानित तथ्यांकले भने धान उत्पादनमा गिरावट आउने देखाएको छ । यस वर्ष धान खेतीको क्षेत्रफल घटेर १ लाख १२ हजार ४६० हेक्टरमा सीमित हुने अनुमान छ । जसअनुसार कुल उत्पादन ४ लाख ३ हजार ६५० मेट्रिक टनमा झर्ने अनुमान रहेको उहाँले जानकारी दिनुभयो ।
उत्पादकत्वमा पनि प्रतिहेक्टर ०.३ मेट्रिक टनले कमी आई ३.६ मेट्रिक टन मात्र रहने अनुमान प्रवक्ता कँडेलको भनाई छ । खेती गरिने क्षेत्रफल र उत्पादकत्व दुवै घट्दा समग्र उत्पादनमा ठूलो अन्तर देखिने उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष करिब ४४ हजार ८५० मेट्रिक टन धान कम उत्पादन हुने अनुमान रहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेशका विभिन्न जिल्लाहरुमा विपद्का कारण धानबालीमा ठूलो क्षति पुगेको छ । प्रदेशको १० जिल्लामा मात्र चालु आर्थिक वर्ष २०८२–०८३ को विपद्का कारण २२ करोड २४ लाख रुपैयाँ बराबरको धानबालीमा क्षती पुगेको हो । मन्त्रालयका अनुसार प्रदेशको काठमाडौं उपत्यका बाहेका जिल्लामा मोन्था चक्रवातको प्रभावका कारण भएको वर्षा र गत असोज १८ देखि २० गतेसम्मको वर्षाका कारण उत्पन्न विपद्बाट १० जिल्लामा २२ करोड २४ लाख ३० हजार ३६० रुपैयाँ बराबरको धानबाली क्षति भएको हो । मन्त्रालय मातहतको कृषि विकास कार्यालयहरुको तथ्यांक अनुसार विपद्बाट प्रदेशका नुवाकोट, रामेछाप, सिन्धुली, दोलखा, धादिङ, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, काभ्रे र चितवनमा लगाइएको धान खेती नष्ट भएको हो ।
मन्त्रालयका अनुसार विपद्बाट प्रदेशमा लगाइएको ५ हजार ४६५.३५ हेक्टर क्षेत्रफलको धानबाली प्रभावित भएको छ भने १२ हजार २१४.२६ मेट्रिक टन धान नष्ट भएको छ । सबैभन्दा बढी क्षति नुवाकोट जिल्लामा भएको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले बताउनुभयो । नुवाकोटमा मात्रै ३ हजार १२८.५८ हेक्टरको धानबाली प्रभावित हुुँदा ५ हजार ८७.२१ मेट्रिक टन धान नष्ट भएको छ । उक्त क्षतिबाट कृषकहरुले एक करोड ८३ लाख १३ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
त्यसैगरी रामेछाप जिल्ला पनि विपद्बाट धान उत्पादन प्रभावित भएको छ । जिल्लामा १३३.१० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली प्रभावित हुँदा ५१४.१० मेट्रिकटन धानबाली क्षति भएको छ । जसबाट १ करोड ६८ लाख ५३ हजार रुपैयाँ बराबरको क्षति भएको । सिन्धुलीमा १ हजार ९८ हेक्टर क्षेत्रफलको धानखेती विपद्बाट प्रभावित हुँदा ३ हजार ५८०.२० मेट्रिक टन धान नष्ट भएको छ । जसबाट किसानहरुले एक करोड १७ लाख १८ हजार रुपैयाँको क्षति व्यहोरेका छन् ।
दोलखामा ८३२.१७ हेक्टरमा लगाइएको धानबाली विपद्बाट प्रभावित भएको छ भने २ हजार ३२४.५१ मेट्रिक टन धानबाली क्षति भएको छ । जसबाट ५४ लाख ४२ हजार रुपैयाँ बराबरको नोक्सान भएको छ । धादिङमा ७९ हेक्टरको धानबाली विपद्बाट प्रभावित हुँदा २६९.५० मेट्रिक टन बानबाली नष्ट भएको छ । उक्त क्षतिबाट ८६ लाख २४ हजार रुपैयाँको नोक्सान भएको छ । सिन्धुपाल्चोकमा १७ हेक्टर लगाइएको धानखेती विपद्का कारण प्रभावित हुँदा ४२.१२ मेट्रिक टन धानबाली नष्ट भएको छ । जसबाट १३ लाख ८६ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
रसुवा, मकवानपुर, काभ्रे र चितवनमा क्रमशः १५६.३०, १६, १४.५ र २० हेक्टरको धानबाली विपद् प्रभावित भएको छ भने २५७.५२, ५१.२०, १२.५ र ७५.४० मेट्रिकटन धानबाली नष्ट भएको हो । जसबाट ९ लाख २७ हजार रुपैयाँ, १८ लाख १५ हजार रुपैयाँ, ४ लाख १२ हजार रुपैयाँ र २६ लाख ७३ हजार रुपैयाँको नोक्सानी किसानहरुले व्यहोरेका छन् ।











