हेटौंडाः हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको कोरोना परीक्षण प्रयोगशालाबाट आज साँझ प्राप्त रिपोर्ट अनुसार मकवानपुरका पाँच मध्ये तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाको लक्षणसँग सम्बन्धित लक्षण भएकाहरुको प्राथमिकताका साथ परीक्षण गर्ने क्रममा पाँच जना मध्ये तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ ।
कोरोनाको लक्षणसँग मिल्दो जुल्दो रुघा, खोकी, ज्वरोका लक्षण भएका व्यक्तिको उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने कि आइसोलेसनमा भन्ने यकिन गर्न पनि प्राथमिकताका साथ परीक्षण गर्दा पाँच मध्ये तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको चौलागाईले जानकारी दिनुभएको छ । परीक्षण गरिएसँगै अब कोरोना सङ्क्रमण भएका व्यक्तिलाई आइसोलेसन वा आवश्यकता अनुसार कोरोना अस्पताल र सङ्क्रमण नभएकालाई सामान्य अस्पतालमै उपचार गर्न सहज हुने जनस्वास्थ्य निरीक्षक चौलागाईको भनाइ छ ।